विद्यालय शिक्षा विधेयक पारित गर्नैपर्ने बाध्यतामा सरकार
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गराउन सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । महासंघले सो अवधिभित्र विधेयक पारित नगरे विगतमा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा राज्यपक्ष फेरि पनि शिक्षक, कर्मचारीलाई धोका दिन र आन्दोलनतर्फ धकेल्न उद्दत देखिएको भन्दै महासंघले जारी विज्ञप्तिमा भनेको छ, ‘यो अवस्थाको यथाशीघ्र अन्त्य हुन जरुरी छ । त्यसैले, संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी कम्तीमा २०८२ साउन २१ गते अघि पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’
महासंघसँग विगतमा गरिएका सहमतिबमोजिम उक्त अवधिमा विधेयक पारित भई अघि नबढेमा सशक्त आन्दोलन गर्न बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ । ‘यसपछि आरम्भ हुने आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने कुरासमेत प्रष्ट पार्न चाहन्छौं,’ भनिएको छ ।
टिप्पणीहरू