जसपाको समर्थन फिर्तापछि सन्तोषको दाउ
लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२–८३ को बजेट पारित गराउन सत्तापक्षको बेञ्चबाट विपक्षी तर्फको बेञ्चमा बसेका लोसपा नेता सन्तोषकुमार पाण्डे मन्त्री बन्ने दौडमा देखिन्छन् । प्रदेशमा निकै विवादित छबि बनाएका पाण्डेकै कारण एमाले काँग्रेस गठबन्धनले हालसम्म खेलकुदमन्त्री नियुक्त गर्न सकेको छैन ।
विगत जे जस्तो भएपनि चेतनारायण आचार्य नेतृत्वको सरकारलाई ठूलै गुन लगाएका छन् । माओवादी, नेकपा एस, नाउपा, जनमतलगायत लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले बजेटको विरोध गर्दै बैठक बहिष्कार गरेको समयमा एकाएक विपक्षी दलको बेञ्चमा बसेर बजेट पारित गराउन उनले ठूलो भूमिका खेलेका थिए । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष नयाँ वर्षको बजेट ल्याएको थियो । बजेटमाथि असहमति जनाउँदै विपक्षी दलहरुले बहिष्कार गरेपछि सत्ता साझेदारी गरिरहेको पाण्डे नेतृत्वको लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै असार १७ गते विपक्षीको बेञ्चमा बस्यो ।
दिउँसोसम्म सत्ता पक्षमा रहको लोसपा संसदीय दलका नेता पाण्डे मन्त्री बनाउने आश्वासनपछि तत्काल विपक्षीको बेञ्चमा बसेका थिए । बजेट छलफलमा विपक्षीको तर्फबाट पाण्डेले आफ्ना धारणा राखेपछि बजेट सर्वसम्मत पारित भएको थियो । यद्यपि प्रदेश सरकारले लिएको घाटा बजेटको बारेमा धेरै टिप्पणी भइरहेको छ ।
उनै पाण्डे पछिल्लो समय सरकारमा सामेल हुने तयारीका साथ हाल रिक्त खेलकुद मन्त्री बन्ने योजनामा देखिन्छन् । यसअघि सरकार गठनको क्रममा एमाले कांग्रेसका नेताहरुले पाण्डे बाहेक लोसपाबाट कन्हैया बानिया र हेमा बेलबासे के.सीमध्ये एकलाई सिफारिश गर्न लोसपालाई अनुरोध गरेको थियो । विगतमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा डिल्ली चौधरीलाई चक्मा दिएर एमालेको पछि लागेका पाण्डेले पछि फेरि शंकरलाई धोका दिएर डिल्लीलाई साथ दिएका थिए ।
पोखरेल नेतृत्वको सरकार टिकाउन एमालेका केही नेताले भैरहवाका एकजना व्यवसायीसँग मोटो रकम लिएर पाण्डेलाई दिएको चर्चा अझै पनि एमाले पंक्तिभित्र चर्चाको विषय बन्ने गरेको छ । त्यसपछि माओवादीका जोखबहादुर महरालाई समेत सहयोग गर्दै सरकारमा सामेल हुन खोज्दा महराले पैसा नदिएपछि उनी मन्त्री नबनेको माओवादीहरुको आरोप छ ।
आफ्नो दलबाट आफूबाहेक अरुलाई मन्त्री बन्न नदिने पाण्डेले अड्डी लिएपछि लोसपाले अन्यलाई सिफारिस गर्न सकेको थिएन । त्यसपछि वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लालाई मन्त्रीेको नाम सिफारिस गर्न जिम्मेवारी दिए पनि पाण्डे बाहेक अरुलाई सिफारिस गर्न सकेनन् । जबकी प्रदेश सांसदमध्ये बानिया मर्चवारबाट निर्वाचित हुन् भने हेमा रुपन्देहीकै हुन् ।
यसरी एक वर्षसम्म अन्य सहकर्मीलाई मन्त्री बन्न रोक्न सफल उनै पाण्डे पछिल्लो समय डिप्रेसनको बिरामी बने । रात परेपछि रंगीन माहौल रुचाउने उनी केही समयअघि भारतको लखनउमा उपचार गरेर फर्केको पारिवारिक स्रोतले बतायो । यसबीचमा बिहारी शैलीमा सडकमा ड्युटीमा खटिएका प्रहरीलाई धम्काउने, पदीय मर्यादा विपरित निर्देशन दिने र नमाने कारबाहीको चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मधेस आन्दोलन अघिसम्म टुथपेस्ट, चियापत्तिका बजार प्रतिनिधि रहेका पाण्डे १९ दिने मधेस आन्दोलनमा भैरहवामा पहाडियाहरुको घर तोेडफोड गरेपछि मधेसी नेताको रुपमा स्थापित भएका हुन् । डिल्ली चौधरी मुख्यमन्त्री हुँदा वरियतामा दोस्रो मन्त्री बनेका उनी अहिले पुनः सडकमा झण्डा हल्लाएको सवारी साधनमा गुड्नैका लागि साम, दाम, दण्डको प्रयोगमा देखिन्छन् । यतिबेला जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभामा अल्पमतमा परेको सरकारलाई सघाउनेगरी दलले सरकारलाई समर्थन गर्दा राजनीतिक सहमतिको बटमलाइन लुम्बिनीमा सन्तोष पाण्डे मन्त्री भन्ने अर्थ लगाउन थालिएको हो ।
टिप्पणीहरू