वित्त आयोगका सदस्यको राजीनामा स्वीकृत
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मिश्रले गत बिहीबार आयोगको सदस्य पदबाट राजीनामा दिएका थिए ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य अमरराज मिश्रले नेपालको संविधानको धारा २५० को उपधारा (४) को (क) बमोजिम सदस्य पदबाट मिति २०८२ साउन १ गते दिनुभएको राजीनामा सोही मितिदेखि लागू हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगमा भएको अनियमितता, अन्य पदाधिकारीहरुको मनोमानी, तथ्याङ्कमा भएको छेडखानीलगायत कारणले राजीनामा दिनुपरेको मिश्रको भनाइ छ । बहुमतको आधारमा आयोगका तीन पदाधिकारीले कार्यविधि कुल्चिएर जथाभावी निर्णय गरेको भन्दै उनी सर्वोच्च अदालत पनि पुगेका थिए ।
टिप्पणीहरू