वामपन्थी दोस्रो पुस्ताको आजै, अग्रजको शनिबार
पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा वामपन्थी तीन नेताहरुको भेट भएको छ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा, नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका हुन् ।
स्मृतिको अवसरमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक अन्तक्र्रिया कार्यक्रम समेत राखिएको छ । अहिले पूर्व अर्थमन्त्री समेत रहको माओवादी उपमहासचिव शर्माले आफ्नो धारणा राखिरहेका छन् ।
उता, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मानित नेता झलनाथ खनालबीच वर्षौपछि भेट हुँदैछ । आगामी साउन १० गते कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने एक पुस्तक विमोचन कार्यक्रममा तीन नेता सहभागी हुन लागेका हुन् ।
पुराना कम्युनिष्ट नेता लोककृष्ण भट्टराईले नेकपाका संस्थापक महासचिव श्रेष्ठबारे लेखेको पुस्तक ‘निर्वासन’को विमोचन कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारी प्रमुख अतिथि, प्रचण्ड र खनाल विशिष्ट अतिथिको रुपमा रहने छन् ।
सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीले पहिलोपल्ट प्रचण्ड र खनालसँग एउटै मञ्च सेयर गर्न लाग्नुभएको हो ।
टिप्पणीहरू