जडिबुटी–पेप्सीकोलाका लागि अन्तिम चेतावनी

जडिबुटी–पेप्सीकोलाका लागि अन्तिम चेतावनी

काठमाडौंको जडिबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण गरिएका अवैध संरचना हटाउन अन्तिम चेतावनी दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागले तेस्रो पटक सार्वजनिक गरेको सूचनामा सो क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन ३० दिने अल्टिमेटम दिइएको छ । 

२०५८ मंसिर १८ गते तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै जडीबुटी (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५–१५ मिटर सडक सीमा कायम गरेको थियो । सोहीअनुरुप सडक सीमाङ्कन गरेर चिनो लगाइएको थियो । 

तर, उक्त स्थानमा संरचना बनाइएपछि महानगर र विभागले सम्बन्धित व्यक्तिलाई आफैं हटाउन तथा भत्काउन यसअघि दुई पटक सूचना निकालेपनि केही संरचना अझै नभत्काएको देखिएकोले तेस्रो पटक सूचना निकालिएको हो । 

सूचनामा, ‘केही अनधिकृत संरचना (भवनहरु) हटाइएको–भत्काइएको नदेखिएको हुँदा यो सूचना (तेस्रो पटक) प्रकाशित भएको मितिबाट ३० दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन–भत्काउन मनासिब माफिकको म्याद तोकी यो सूचना प्रकाशित गरिएको,’ उल्लेख छ ।
उक्त समयावधिभित्र अनधिकृत संरचनाहरु नहटाइए सार्वजनिक सडक ऐन, २०३१ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधिबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू