ओलीलाई विद्याको सन्देश- ‘अगाडि बढिसकेँ, आतंक बन्द गरियोस्’

ओलीलाई विद्याको सन्देश- ‘अगाडि बढिसकेँ, आतंक बन्द गरियोस्’

नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू निकट नेता-कार्यकर्तामाथि मच्चाइएको आतंक बन्द गर्न पार्टी नेतृत्वलाई घुमाउरो चेतावनी दिनुभएको छ । 

बूढानीलकण्ठ, भंगालस्थित निवासमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राजनीतिमा सक्रिय भैसकेकाले अब पछि हट्ने सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । च्यासलमा जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न अघोषित निर्देशन दिइएको भन्ने चर्चा भैरहँदा पूर्व राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । 

बैठकमामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार नेताहरुलाई त्यहाँ त्राहिमाममा राखिएको छ । भण्डारीले भने त्यस्तो हर्कत बन्द गर्न नेतृत्वपंक्तिलाई चेतावनी दिँदै भन्नुभयो, ‘अहिले पार्टीको केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ, तर जसरी नेताहरुलाई थर्काउने, बोल्न नदिने र बोलेपछि कारवाहीको धम्की दिन थालिएको छ, यो ठिक छैन, यो तत्काल बन्द गरिनुपर्छ ।’

अध्यक्ष ओलीले हिजोको बैठकमा भण्डारीसँगको भेटवार्ताबारे जानकारी गराउँदै विचार गर्न समय दिएको बताउनुभएको थियो । ‘देशको अभिभावकको रूपमा बस्नुपर्ने मानिस सक्रिय राजनीतिमा आउँदा नराम्रो सन्देश जानसक्छ, बरु सम्मानित नै भएर बस्दा राम्रो हुन्छ भनेको छु’, उहाँले भन्नुभएको थियो, ‘विचार गरेर के जवाफ दिनुहुन्छ, हामी कुरेर बसेका छौँ ।’ 

उक्त प्रसंगमा पनि भण्डारीबाट स्पष्ट सन्देश आएको छ । सोच विचार गरेर राजनीतिमा फर्किएको र त्यसबाट पछि नहट्ने उहाँको प्रश्टोक्ति छ । ‘अगाडि बढिसकेको छु, अब पछाडि फर्किने कुरा हुँदैन', उहाँले स्पष्ट पार्नुभयाे ।

यो पनि...

अध्यक्षको पक्षमा बोल्नैपर्ने बाध्यताले च्यासलमा त्राहिमाम

टिप्पणीहरू