पार्टी संकटमा पर्दा रविन्द्र मिश्रको नबोल्ने प्रण
पूर्व पञ्चहरूको पार्टी राप्रपामा आन्तरिक किचलो चर्किंदै गएका बेला वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने शान्त छन् । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निर्मल निवास निकट नेतामाथि धमाधम कारवाहीको डण्डा चलाइरहँदा पनि मिश्रले मुख नखोल्नु रहस्यमय छ ।
निष्कासनको कारवाहीमा परेका उपाध्यक्ष मुकुन्द श्याम गिरी, प्रवक्ता सगुनसुन्दर लावती, अनुशासन आयोगका अध्यक्ष नवराज सुवेदी उजुर गर्न निर्वाचन आयोगसम्म पुगे । उनीहरुलाई महामन्त्री धवल शमशेर राणाले साथ दिएका छन् । तर, विगतमा चर्का कुरा गर्ने र घण्टैपिच्छे फेसबुकमा स्टाटस लेख्ने गरेका मिश्र भने कतै देखिएका छैनन् ।
चैत १५ गते तीनकुनेको हिंसामा भीड उक्साएको अभियोगमा झण्डै दुई महिना हिरासत बसेर अदालतको आदेशले छुटेका उनी पार्टीमा यत्रो विवाद हुँदा पनि किन नबाेलेका हाेलान् ? अहिले पार्टीमा ठूलो संकट आएको र यस्तो बेला चुप बस्नु नै उपयुक्त हुने मिश्रले जवाफ दिएका छन् ।
सामाजिक सञ्चालमा एउटा पुरानो भिडियो क्लिप शेयर गर्दै ‘नबोल्नु’लाई डराएको भनेर नसोच्न उनले घुमाउरो चेतावनीसमेत दिएका छन् ।
‘कृपया, मेरो जुँगा धेरै नतान्नोस् न !’ भन्दै उनले लेखेका छन्, ‘प्रमुख नेताहरुले देशमा धेरै विवाद र संकट भयो भने सार्वजनिक रुपमा बोल्नुपर्छ, तर देशका प्रमुख नेताहरुले पार्टीभित्र धेरै विवाद र संकट भयो भने सार्वजनिक रुपमा धेरै बोल्नुहुँदैन ।’
समग्रमा पार्टीभित्र अहिले ठूलो समस्या र सकंट रहेको मिश्रको आशय छ । सबै जना एकै पटक बोल्न आवश्यक नरहेको बताउँदै लेख्छन्, ‘म देशको प्रमुख नेता त होइत, तर पदीय रुपमा पार्टीको एक जना प्रमुख नेता हुँ, त्यसैले म अत्यावश्यक नभई बोल्दिनँ ।’
टिप्पणीहरू