गुनासो भए पोख्न छुट्टै कुना
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनुवाइ र समाधानका निम्ति ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । मन्त्री भगवती न्यौपानेले आज केन्द्रको उद्घाटन गर्दै कार्य सञ्चालनको शुभारम्भ गरेकी हुन् ।
केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्य सम्पादनसँग सम्बन्धित विषयका गुनासोहरु सुनुवाइ र सम्बोधन गर्ने प्रवक्ता कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार गुनासो व्यवस्थापन कार्यका निम्ति उपसचिवको नेतृत्वमा टोली खटाइएको छ ।
कर्मचारीहरुले सेवाग्राहीबाट प्राप्त गुनासोहरु अध्ययन र वर्गीकरण गरी सम्बोधनको प्रक्रिया अगाडि बढाउनेछन् । सामान्य प्रकृतिका गुनासो केन्द्रबाटै सम्बोधन हुने प्रवक्ता पराजुलीको भनाइ छ ।
केन्द्रका कर्मचारीहरुले समाधान गर्न नसक्ने गुनासोहरु सम्बन्धित शाखा प्रमुखकहाँ पठाइने मन्त्रालयले जनाएको छ । शाखा प्रमुखले सम्बोधन गर्न नसक्ने गुनासोहरु महाशाखा प्रमुखकहाँ रिफर गरिनेछ । महाशाखा प्रमुखले तीन दिनभित्र गुनासो सम्बोधन गर्नुपर्नेछ ।
महाशाखा प्रमुखले सम्बोधन गर्न नसकेका गुनासोहरु सचिवकहाँ पठाइने र त्यहाँबाट सात दिनभित्र गुनासो सम्बोधन गरिने मन्त्रालयको दावी छ । सेवाग्राहीले मन्त्रालयको हटलाइन नम्बर, मोबाइल नम्बर ९८५१२७७२१०,९८५१२७७२११, इमेल वा ट्विटर र फेसबुकमार्फत गुनासो पठाउन सक्छन् ।
टिप्पणीहरू