बाहिर मौन,भित्रभित्र अर्कैलाई समर्थन

बाहिर मौन,भित्रभित्र अर्कैलाई समर्थन

पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पछिल्लो समय गुमनाम झैं छन् । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनमा भीड उक्साएको अभियोगमा पक्राउ परेका उनी तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसयता शान्त देखिन्छन् । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयोगका अध्यक्ष नवराज सुवेदी,उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुनसुन्दर लावतीलगायतका नेतामाथि कारबाहीको डण्डा बर्साइरहँदा उनले कुनै प्रतिक्रिया दिएका छैनन् । सोही प्रकरणमा सँगै प्रहरी हिरासतमा बसेका राप्रपाका महामन्त्री तथा सांसद धवलसमशेर राणा इतर पक्षको नेतृत्व बनेर निर्वाचन आयोग धाइरहँदा उनी हात बाँधेर बस्नु रहस्यमय छ । 

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहको ७९ औं जन्मदिनको अवसरमा उनी अन्य नेतासँगै काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवास पुगेका थिए । त्यसयता कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । स्रोतका अनुसार पछिल्लो समय कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बचाउ अभियानमा लागेका छन् । 

उनले आन्तरिक रुपमा रविविरुद्ध राजनीतिक प्रतिशोध अभियानको समर्थन गरेको स्रोतको जिकिर छ । रवि र रविन्द्र दुवै सन्चारकर्मबाट राजनीतिमा आएका हुन् । त्यसैले पनि उनी रविको पक्षमा रहेको स्रोतको जिकिर छ । यता, पार्टीमा ठूलो संकट देखिरहँदा उनले मुख नखोलेकोप्रति अन्य नेताले असन्तुष्टि जनाइरहेको अवस्था छ ।

टिप्पणीहरू