हँदै हुन्न है ‘अधिक तरलता’

हँदै हुन्न है ‘अधिक तरलता’

-स्थितप्रज्ञ

शून्य नियमन र गैरजिम्मेवारीको बानी परेका बैंकहरूलाई पैसा देख्दा सकसक हुनु स्वाभाविक हो । नउठेको ब्याजमा गर्न सकिने सदाबहारीकरण र कुम्ल्याउन सकिने बोनसको लालसले पिरोल्नु पनि स्वाभाविकै मान्नुपर्छ । 

भूकम्पपछि : भूकम्पपछिको केही वर्ष नेपालमा तरलता बेहिसाब रहयो । प्रोफेसनल अर्थमन्त्री र बैंकिङ्ग नबुझ्ने गभर्नरको समिश्रणमा बैंक यसरी फुक्काफाल चले कि कर्जाको अभूतपूर्व रूपमा सञ्चार भयो । टिकटक बनाउन कर्जा लिने गिनेचुनेका गरिब देशमध्ये नेपाल पनि पर्छ । 

कोभिड : गतिको हिसाबले कर्जाको अनुपात देशको अर्थतन्त्रको कूल आकार बराबर पुग्ने निश्चित नै थियो र त्यसको एक मात्र कारक साथी बन्ने नाममा भएको अन्धाधुन्द कर्जाको वितरण हो । पैसालाई कागज मान्न थालेपछि यस्तै हुन्छ । डिलमा पुगिसकेको अर्थतन्त्र र त्यसको परिणामबाट जोगिने एक राम्रो बहाना थियो– कोभिड र आजसम्म त्यसकै टेकोले घिसिरहेको छ, विश्वासमा चल्ने अर्थतन्त्र । हरेक विसंगतिको एक मात्र उत्तर हो–  ‘कोभिडले गर्दा ।’ 

चालु पुँजी कर्जा : असरको हिसाबले युगान्तकारी बन्न पुग्यो चालु पुँजी कर्जा मार्गदर्शन । ऋण लिएपछि तिर्नु नपर्ने भ्रमबाट कर्जाजीवीहरूलाई झस्काएर विरोध गर्न सडकसम्म ल्यायो यसले र फेरि कहिल्यै नउठ्नेगरी ढल्यो, अर्काको पैसामा मस्ती गर्ने आत्मबल । यसमा पनि केही ठाउँ चुक्यो राष्ट्र बैंक, पहिलो परमानेन्ट चालु पुँजी कर्जाको माथिल्लो समय–सीमा नतोकेर जुन पछि सच्याइयो र थोरै केही कर्जापतिहरूका लागि यो मार्गदर्शन हुन पुग्यो लागु हुने समय–सीमा तन्काएर । स्मरण योग्य, यो छ कि आइएमएफको आर्टिकल फोर प्रतिवेदनले धरै पहिलादेखि नै चालु पुँजी कर्जाको नाममा भइरहेको ठगीमा कैफियत देखाइरहेको थियो । किन र कसका लागि राष्ट्र बैंक यो विषयमा बेपरवाह रह्यो ? सोधखोज हुनै पर्छ । 

कर्जान्तरण : उल्लिखित मार्गदर्शनपछि कर्जान्तरण गज्जब भएको छ । चालु पुँजी कर्जा सर्लक्क टर्म कर्जामा परिणत गरिएको छ र त्यसमा लुकाइएको छ, निष्क्रिय कर्जाको असली विवरण । आफ्नो पनि अकर्मण्यता उदांगिने हुँदा यसमा साथ हुने नै भयो राष्ट्र बैंकको । तीन वर्ष अनवरत कर्जान्तरण हु“दा पनि त्यसको ग्राफ प्लेटु नहुनुले स्थितिको भयावहतालाई स्पष्ट पार्छ । 

मौसमी नियम : नियामकका नियम मौसमी छन् । लगाउनै पर्ने क्याप सेयर कर्जामा किन ढिलो लगाइयो र लगाइसकेपछि किन हटाउने काम गरियो, गतिलो जवाफ दि“दैन राष्ट्र बैंक । बिग्रेको कर्जा लुकाएर न्यून स्तरमा देखाइँदा बढाइएको जोखिम भार के आधारमा हटाइन्छ, पत्रिकाको पानामा दिनानुदिन खबरभन्दा बढी लिलामीको सूचना किन आउँदैछ ? मूल्य चुकाउ“छन् सर्वसाधारण, बचतमा न्यून ब्याजदर पाएर । शोषण कतिसम्म छ भने अघिल्लो पटक ब्याजदर उच्च विन्दुमा पुग्योे भनी पा“चबाट ६ प्रतिशत पु¥याइएको कर घटाउनेबारे छलफलसम्म हु“दैन ब्याजदर न्यून बिन्दुमा झर्दा । ‘मेटिकुलस्ली’ भन्छन् अंग्रेजीमा यसले प्रयोगको सटिकतालाई जनाउ“छ र मौद्रिक नीतिको त्यही प्रयोग हुनुपर्छ अर्थतन्त्रलाई सुरमा राख्न । त्यही भएर त्रैमासिक समीक्षा गर्छन्, परिआए दैनिक पनि समीक्षा गर्नुपर्ने हुन्छ, मादललाई समस्वरण गरे झैं । 

कुरा तरलताको : माथिका सारा दुर्घटना अधिक तरलता हुन्छ भन्ने मान्यता राखी गरिएका गैरजिम्मेवार क्रियाकलापका दुष्परिणाम हुन् । हरेक अर्थतन्त्र आदिम हुन्छ र त्यसको बनोट मौलिक । अधिकांश कृषि र वैदेशिक रोजगारीमा रहेको यस अर्थतन्त्रमा कसको हितका लागि आक्रामक विस्तारकारी मौद्रिक नीति अवलम्बन गरिन्छ बुझ्न कठिन छ । यो नादानी अथवा बेइमानी क्षमायोग्य छैन र यसको मूल्य चुकाउँछन् आमजनताले अर्थतन्त्रको पहुँचबाट टाढा भएर । 

बैंकबाट लगेको पैसा कबुलेको ठाउ“मा मूल्य अभिवृद्धि गर्न प्रयोग भए त्यो लगानी हुन्छ र त्यही पैसा ताक पार्न प्रयोग भए खरानी । दुर्भाग्य नेपालको कर्जामा ताकबहादुरले आधिपत्य जमाएका छन् । अत्यन्त न्यून क्षमता भएको जान्दाजान्दै कर्जा लगानीलाई किन अर्थतन्त्र बराबर पुग्न दिइयो, छानबिनलायक छ । नेपालीलाई कर्जा दुव्र्यसनको आदतमा धकेल्ने मान्यता त्यही अधिक तरलता भन्ने स्वाँठ परिभाषा नै हो, परिणाम निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिमा देखिएकै छ । 

लगानी हुन्न भने त्यो पैसा सञ्चित भएर रहनु नै हितकर हुन्छ, सबैका लागि । मूल्य स्थिरता, उद्यमता र समानता कायम हुन्छ बेंकवाक कर्जामा लगाम लगाउँदा । यही नेपाल हो एउटा लाहुरेले कमाई ल्याएको रकम पुस्तौंसम्मलाई पुग्थ्यो तर आज घरका साराले काम गर्दा बचत न्यून छ, ताकबहादुरहरू पोस्ने नीतिको दुष्परिणाम हो यो । प्रभावशाली विदेशी संस्थाका एक प्रतिनिधिले भनेकै हुन्, नेपालको अर्थतन्त्र लयमा आउन कर्जाको आकार अर्थतन्त्रको ६० प्रतिशततर्फ झर्नुपर्छ भनेर जुन भनाइ सतप्रतिशत सही छ । 

हिजो आज : नियामकको हालको जोखिम भार र अन्य लचकता तात्कालिक छ र यो धेरै टिक्दैन भन्ने जानेरै हो अहिले कर्जा वृद्धि सुस्त रहेको । नत्र सेयर कर्जामा बचतकर्ताको पैसामा बैंकेश्वरहरूले देखाएको मनमौजी हेर्नलायक छ । यता बैंकेश्वरहरूले सेयर कर्जामा प्रिमियम घटाउने, उता सेयर दलालहरूले मार्जिन लिमिट बढाइदिने, भाइचारा गज्जब छ, कुरा वर्ष दिनअघि पुसतिरको हो । यी र यस्ता अनेक प्रपञ्चका लागि ‘अधिक तरलताको’ भाष्य खडा गरिन्छ । 

अनि यस्ता रेन्ट स्किर्सहरूले तलब खान पाइराखुन् भनेर नियामकका कार्यकारी बैंक घाटामा जानु हुँदैन भनी कुर्लंदै हिँड्छन् । घाँटी तन्काएर दक्षिणतिर हेरे कुरा छर्लंग भइहाल्छ र यही सुगा रटाइको चपेटामा पर्छन् गर्नुपर्ने सुधारका सारा काम । अन्त्यमा, हाम्रोजस्तो अर्थतन्त्रमा आज ‘अधिक तरलताको’ भाष्य पछाडि लाग्नु प्रत्युत्पादक हुन्छ । यो सरासर गलत छ । 
 

टिप्पणीहरू