मोरङमा ‘हर्क दाइ’ को चर्चा

मोरङमा ‘हर्क दाइ’ को चर्चा

मोरङकाे उर्लाबारी नगरपालिका-९ स्थित आम्बारी डाँडाटोल । कुनै बेला याे ठाउँ फोहोर, झारजङ्गल र छाडा जनावरले घेरिएकाे थियाे । तर, आज त्यही ठाउँ रंगीचंगी फूलले ढाकिएको छ । सेतो, गुलाबी, बैजनी, रातो र पहेँलो फूलहरूले साँच्चीकै सबैकाे मन लाेभ्याउँछ । 

यो रूपान्तरण कुनै सरकारी योजना वा विकास आयोजनाबाट भएकाे हाेइन । स्थानीय ५८ वर्षीय हर्क थेबेको ‘एक्लो सपना र कठोर मेहनत’ काे सुन्दर परिणाम हाे यो । 

तीन वर्षअघि सडक किनारको झार सफा गर्दै बिरुवा रोप्न थालेका थिए थेबेले । शुरुमा स्थानीयले जिस्क्याउँदै भन्थे-“हर्के बौलायो !” कोही हाँसे, कोही अलिअलि रुष्ट पनि भए । तर, उनले हार मानेनन् । आफ्नै सानो नर्सरीमा बिरुवा हुर्काउँदै तीन वर्षसम्म स्याहार, गोडमेल, सिँचाइ, मलजल गर्दै एक्लैले फूलवारी विस्तार गरेरे छाडे ।

“मैले त सानो प्रयास गरेको हुँ । सरकारी सहयोग पाएको छैन । विदेशमा रहेका साथीहरूले हौसला दिए, केहीले आर्थिक साथ पनि । म त श्रम गर्ने मान्छे मात्रै हुँ”- हर्क भन्छन् ।

टिकटकको लागि हिट लोकेशन

आज यो फूलसहितकाे बाटो फोटो खिच्न, टिकटक बनाउन र रमाउन आउनेहरूको भीडले भरिन थालेको छ । बालबालिकादेखि युवायुवती, वृद्धसम्म यहाँ रमाइलो गर्न आउँछन् ।

उर्लाबारी–९ की शान्ता राई भन्छिन्- “मेरो माइती जानु पर्दा अब फूलैफूलको बाटो हिँड्न पाइन्छ । मन नै हर्षित हुन्छ । हर्क दाइको योगदान अतुलनीय छ ।”

डाँडाटोल–आम्बारी बजार जोड्ने यो सडकखण्ड पहिले बिजुलीका पोलमा गाई बाँध्ने, अन्न सुकाउने, गिट्टी-बालुवा थुपार्ने ठाउँ थियो । आज त्यही ठाउँ फोटोसुट, घुमफिर र भेटघाटको केन्द्र बनेको छ । 

“फूल हेर्दा मानिस रमाउँछन्, रमाईलो हुँदा गाउँ खुसी हुन्छ भन्ने लागेपछि लागिरहेँ”- हर्कको भनाइ छ।

उक्त क्षेत्रमा करिब २ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खर्च भएको उनले बताए । “महँगो फूल ल्याउन सकिएन, असारे फूल रोपें। सुरुमा केही हाँस्नेहरू थिए, तर म दृढ थिएँ”- उनी भन्छन् ।

स्थानीय तेजन खड्का भन्छन्- “जहाँबाट अरू डराउँछन्, त्यहीँबाट हर्क दाइले सुरुवात गर्नुभयो । उहाँको काम सच्चा समाज रूपान्तरणको उदाहरण हो ।” उनका अनुसार यो प्रयासलाई स्थानीय सरकारले संरक्षण गर्नु अहिलेको आवश्यकता हो । 

हर्कको अभियानमा साथ दिने स्थानीय सरकारको प्रतिवद्धता छ । उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान भन्छन्- “थेबे जस्तो नागरिक टोलका लागि प्रेरणा बन्नुभएको छ । उहाँको कामलाई संस्थागत बनाउन वडा कार्यालयबाट आवश्यक सहयोग गरिनेछ ।”

उनले प्राविधिक र स्रोतसाधन सहयोगको तयारी पनि भइरहेको बताए ।

टिप्पणीहरू