यताबाट खोसियो, उता करोडौं थपियो
प्रधानमन्त्री केपी शर्मा ओलीको अत्याधिक चासो रहेको त्रिवि क्रिकेट स्टेडियम निर्माणमा कुन हदसम्म चलखेल भइरहेको छ भन्ने केही तथ्य जनआस्थाले फेला पारेको छ ।
जानकारहरू भन्छन्, खासमा राष्ट्रिय खेलकुद परिषद्मार्फत अगाडि बढ्नुपर्ने परियोजना हो यो तर केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै खेलकुदबाट खोसेर शहरीमा पुर्याउनुभयो । यसअघि खेलकुद परिषद्ले २७ करोड ४० लाख दुई हजार २२ रूपैयाँमा टेण्डर आह्वान गरेको उही फ्लडलाइट अहिले ४३ करोड खर्चेर जडान गर्न खोजिँदै छ ।
कीर्तिपुर क्रिकेट ग्राउण्ड निर्माणको ठेक्का ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको लागेको छ भने त्यहाँ जडान गरिने फ्लडलाइटको ठेक्का ४२ करोड १९ लाख ९१ हजार ६ सय ९३ लागतमा सम्झौता भएको छ । एउटै ठेक्कामा झण्डै १६ करोड तलमाथि भएको भन्दै सार्वजनिक खरिद अनुगमनदेखि अख्तियारसम्म गुहारिएको छ । केही दिनअगाडि मात्र यससम्बन्धी फाइल अख्तियारले शहरीबाट माग गरेको समेत स्रोतले पुष्टि गरेको छ । जसरी सिञ्चाइ मन्त्रालयबाट झण्डै साढे २ अर्ब रूपैयाँको एउटा आयोजना र परराष्ट्रबाट राहदानी छपाइको ठेक्कामा कार्टेलिङ गरिएको थियो उही ढंगबाट यो काम पनि फत्ये गर्न लागिएको भन्दै केही निर्माण व्यवसायीले यी निकाय गुहारेका हुन् ।
विकास निर्माणका काम हुनु, मुलुकको मुटुमै क्रिकेट स्टेडियम बन्नु असाध्य राम्रो कुरा हो तर खेलकुद परिषद्का एक पदाधिकारी अहिले कीर्तिपुरमा जडान गर्न खोजिएको फ्लडलाइटको काम १५ करोड हाराहारीमा सकिने बताउँछन् । यसअघि राखेपबाटै २८ करोडमा टेण्डर खोलिएको उनले स्मरण गरे तर चार–चार पटकसम्म कुनै दरखास्त परेन । पछि शहरी हुँदै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यो टेण्डर आह्वान गरेको हो । यसअघि भारतमा निर्मित फ्लडलाइट लगाउने गरी रेट मूल्यांकन भएको थियो । उक्त टेण्डर मिलेमतोमा चार पटकसम्म बदर गराई भारतीय कम्पनीमा निर्मित फ्लडलाइट लगाउने गरी ४२ करोड १९ लाख ९१ हजारको ठेक्का लगाइएको छ ।
क्रिकेट मैदान निर्माणको ठेक्का पाएको छ, बिकोई बिल्डर्सले, जसका मालिक हुन्, हुमनाथ कोइराला । यसअघि कृषि सामग्री केन्द्रमार्फत रासायनिक मल ल्याउन नसकेर उनको अर्काे कम्पनी निको मल्टिपल प्रालि कालोसूचीमा परेको थियो । बसपार्कवाला विवादित ठेकेदार मनोज भेटवालका पार्टनर उनी ठगी मुद्दामा जेलसमेत परेका व्यक्ति हुन् ।
कुन पण्डितलाई हेराएर हो केपी शर्मा ओलीले तीन सय दिनभित्रै त्रिवि क्रिकेट स्टेडियम बन्न्ने घोषणा गरेका थिए । तर, चार सय दिन बितिसक्दासमेत प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसरी समयमा काम सम्पन्न गर्न नसकेपछि योजनाको कूल रकमको ०.०५ प्रतिशत अर्थात् दैनिक दुई लाखभन्दा बढी हर्जाना तिराइएको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू