स्थानीयपछि गाउँपालिका शहर छिर्दै

स्थानीयपछि गाउँपालिका शहर छिर्दै

नाम गाउँमा, भत्ता खानेहरु शहरमा ! सन्दर्भ रित्तिँदै गएको गाउँघरको होे । गाउँघर खाली भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि स्थानीयबासी खोज्दै शहर छिर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता लिनेहरु अधिकांश शहरमा भएकाले गाउँपालिकाले घुम्ती सेवा सञ्चालन गर्न लागेको हो । 

पालिकाले सूचना जारी गर्दै काठमाडौं र चितवनमा घुम्ती सेवा प्रदान गरिने जानकारी दिएको छ । साउन २६ र २७ गते चितवनस्थित गणेश खाजाघरमा सेवा दिइनेछ । साउन २९ गते वनस्थलीस्थित ताकुकोट सेवा समाजको कार्यालयमा १ देखि ४ वडाका सेवाग्राहीलाई सेवा दिइने गाउँपालिकाले जनाएको छ । 

साउन ३० गते ५ देखि ८ र साउन ३१ गते सम्पूर्ण छुट सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिनेछ । पालिकाले पहिलोपटक घुम्ती सेवामार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न लागेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । भत्ता लिने अधिकांश पालिकाबासी काठमाडौं र चितवनमा रहेपनि बसाइँसराइ नलगेकाले गाउँपालिकाले घुम्ती सेवा सञ्चालन गर्नुपरेको उनको भनाइ छ । 

जनआस्थासँग उनले भने,‘सामाजिक सुरक्षा भत्ता लिने धेरै शहरमा हुनुहुन्छ । उहाँहरुले यहाँबाट बसाइँसराइ लैजानुभएको छैन । पालिकाले लग्नुस् भनेर भन्ने कुरा हुँदैन । उहाँहरु आउन नमिल्ने भएपछि पालिका घुम्ती सेवा सञ्चालन गर्न बाध्य भएको हो ।’

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँपालिकाले चितवनमा दुई र काठमाडौंमा चार जना कर्मचारी खटाएको छ । गाउँपालिकाको उक्त कार्यको केहीले प्रशंसा गर्दा धेरैले विरोध जनाएका छन् । लेख आलेमगरले पालिकाको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । पालिकाको सो निर्णयले गाउँ बासिन्दालाई पलायनतर्फ आकर्षित गर्ने उनको भनाइ छ । 

‘अब यो सेवा दुबई, कतार, मलेसिया, साउदी, बहराईन, जापान, अमेरिका, युके सबै ठाउँमा पुर्याउँ पालिका र पालिका प्रमुखको साखः बढ्छ । अनि गाउँ बासिन्दालाई गाउँ पलायनतर्फ आकर्षित गरौं’,उनले लेखेका छन्,‘यस्तो सेवा, सेवा होइन । सरकारी भ्रमण खर्च शीर्षकमा भोट किन्ने काईते मेवा हो । पालिकाको यो सूचनाप्रति पुनः असहमत प्रकट गर्दछु ।’

विकल सुवेदीले पालिकाको सो निर्णयले गाउँको अस्तित्व मेटिने बताएका छन् । ‘यति भएपछि अब गाउँको अस्तित्व मेटिँदैछ भन्ने बुझियो’, उनले भनेका छन् । अर्जुन ढकालले गाउँपालिकाको गलत काम भन्दै विरोध जनाएका छन् । हरि देवकोटाले विदेशमा रहेकालाई उतै गएर सेवा दिने व्यवस्था मिलाउन भन्दै पालिकाको निर्णयको कटाक्ष गरेका छन् । 

लेख्छन्,‘विस्तारै गाउँको अस्तित्व हराउँदै छ । विदेश भ्रमणमा हुने बाआमाहरुलाई नि उतै गएर सेवा दिने वातावरण बनाइदिनुस् ।’

टिप्पणीहरू