राप्रपामा थपियो अर्को रडाको

राप्रपामा थपियो अर्को रडाको

पूर्व पञ्चहरूको पार्टी राप्रपामा अर्को रडाको मच्चिएको छ । केन्द्रमा संस्थापन इतर खेमाका नेताहरुलाई छानीछानी कारवाहीको तरबार उज्याइएका बेला एकजना केन्द्रीय सदस्यले पार्टी छोडेका छन् भने अर्का एकजना कुटिएका छन् । 

अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले राजु गैरेलाई भकुरेका हुन् । कडायतले टाउकोमा हेल्मेटले हानेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा छरप्रष्ट भएको छ । यसअघि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले अध्यक्ष लिङ्देनको अत्याचार अचाक्ली बढेको भन्दै पार्टी छोडेको घोषणा गर्नुअघि सार्वजनिक भिडिओमा मज्जैले कुटेको देखिन्छ । 

अध्यक्ष लिङ्देनविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेको गैरेमाथि आरोप थोपरिएको छ । लिङ्देनकै निर्देशनमा आफूमाथि कुटपिट भएको उनले दाबी गरे । सामाजिक सञ्जालमार्फत् न्यायको याचना गर्दै अन्यथा पार्टी कार्यालयमै पासो लगाएर मर्ने उनले चेतावनी दिए । 

सिसिटिभीमा कैद भएको कुटपिटको भिडियो शेयर गर्दै लेखेका छन्, 'यो हेर्नुहोस्, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले मलाई मार्ने नियतले, अध्यक्षले त कुटेर आउनु भन्नुभएको थियो, तलाई म यहीँ मार्दिन्छु भन्दै बुलेटको हेल्मेटले प्रहार गरेको दृश्य हो ।’

‘दोषीलाई बचाउन कोही कसैले वार्ताको प्रयास नगरोस्’ भन्दै गैरेले मिलापत्र नगर्ने प्रष्ट पारेका छन् । १८ वर्षदेखि पार्टीलाई योगदान दिएवापत ‘धार्मिक उपहार’ पाएको उनको कटाक्ष छ ।

‘झापाको छुर्पी ग्याङ चलाएजस्तो हैन पार्टी चलाउनु अध्यक्षज्यू, वैचारिक तर्क मन नै नपर्ने तपाई, तपाईको कार्यशैलीको विषयमा बोल्नै नपाइने, तपाईको गुनगान गाउने र चाकरी गर्ने मात्र तपाईको नजरमा पार्टी कार्यकर्ता, अरु तपाईका दुश्मन हुन् ?’ गैरेले भनेका छन्, ‘उपयुक्त तर्कले जित्न नसकेपछि गोठमा पालेको साँढेझै पार्टीको रासन पानीबाट पालिएका तपाईका स्वकीय सचिव नामका गुण्डा खुलेआम मार्न पठाउने ?’

गैरे ०७९ को निर्वाचनमा राप्रपाबाट प्रदेश सभा सदस्यको उम्मेद्वार थिए । लिङ्देनका पिएलाई टोले गुण्डाको संज्ञा दिँदै उनले त्यस्तासँग नडराउने बताएका छन् ।

‘चित्त नबुझेका विषयमा प्रश्न गर्ने अधिकार हरेक कार्यकर्तालाई हुन्छ, तर सभ्य तवरबाट प्रश्न गरेकै भरमा मान्छे मार्न पठाउने ?’ उनले भनेका छन्, ‘हेक्का रहोस्, राजु गैरे त्यो टोले गुण्डाहरुको हैकमले डराउँदैन, कुनै समयमा तिमीहरु जस्ता हजारौँ गुण्डालाई धुलो चटाएको इतिहास पनि छ ।’

 

टिप्पणीहरू