ढुङ्गा उछिट्टिएर सवारी दुर्घटना

ढुङ्गा उछिट्टिएर सवारी दुर्घटना

चितवनमा पिकअप भ्यान र मोटरसाईकल ठक्कर खाँदा एकजना घाइते भएका छन् । खैरहनी नगरपालिका–९, बैरहनीमा हिजो साँझ पर्नैलाग्दा साढे पाँच बजेतिर भएको दुर्घटनामा मोटरसाईकल चालक घाइते भएका हुन् । 

बा.प्र०३–००१च १३९ नम्बरको पिकअप भ्यान र बा.प्र.०६–००२प ५५८८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा चितवनकै रत्ननगर–१० बस्ने २१ वर्षीय रमित क्षेत्रीको दाहिने हात र दुबै खुट्टामा चोट लागी उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ । 

दुवै सवारी साधन र पिकअप भ्यान चालक खैरहनी–९ कै ४९ वर्षीय महावीर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

हिजो दिउँसो चितवनको इच्छाकामना गाउँपालिका–३, पृथ्वी राजमार्गस्थित चुम्लिङटारमा ढुंगा उछिट्टिएर पनि सवारी दुर्घटना हुन पुगेको थियो । काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको बा३ख ८२८३ नम्बरको माइक्रोमा नम्बर नखुलेको सवारी साधनबाट ढुंगा उछिट्टिएर लाग्दा माइक्रोमा क्षति भएको बताइन्छ । 

तर मानवीय क्षति भने नभएको चितवन प्रहरीले जानकारी गराएको छ । 

गत बुधबार बिहानको समयमा माडी–९ स्थित बाँदरझुला (हनुमानझुला) सेक्टर नं. २ मा पनि ठोरीबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०३९७ नं. को गुडिरहेको बसबाट ढुंगा उछिट्टिएर लाग्दा बाटोको छेउमा खेलिरहेका एक बालक घाइते भएका थिए । आठ वर्षीय बालकको टाउकोमा चोट लागेको थियो । – अजय गोर्खाली

टिप्पणीहरू