गुटबन्दी अन्त्य गर्ने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । तीन दिनदेखि जारी छलफलमा उठेका प्रश्नहरूको आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिएपछि बैठक अन्त्य भएको छ ।
बैठकले पार्टीभित्र अबदेखि कुनै पनि प्रकारको गुटबन्दी र समूह पैदा हुन नदिने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताबद्ध भएको छ । त्यसका लागि हामीले सामूहिक प्रतिबद्धता गरेका छौँ । पार्टीलाई अझ सुदृढ बनाउन सबै खाले गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ । अब फेरि एकताबद्ध भएर जनतामा जाने निर्णय गरेका छौँ ।’
यता, पार्टी उपमहासचिव जनार्दन शर्माले पनि बैठकमा पार्टीको सिद्धान्त, दर्शन र विधिबारे गम्भीर छलफल भएको बताएका छन् । तर, आत्मालोचनाबारे भने उनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
बैठकमा सहभागी एक नेताका अनुसार, शर्माले चार वर्षदेखि माइन्युटमा हस्ताक्षर नगरेको विषयमा आत्मालोचना गरे पनि पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा बोलेको विषयमा भने चुपचाप देखिन्छन् ।
टिप्पणीहरू