दोस्रो विवाह गर्ने हो भने पहिलो टुंग्याउनुपर्छ : डिला संग्रौला
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासप्रति कडा विरोध जनाएकी छन् । उनले दोस्रो विवाह गर्न चाहनेलाई पहिलो विवाह टुंग्याउन सुझाव दिएकी छन् ।
काँग्रेस बुद्धिजीवि विभाग प्रमुख एवम् महिला संघकी पूर्व अध्यक्ष डा.संग्रौलाका अनुसार बहुविवाह फौजदारी अपराध हो र यसलाई संशोधन गर्ने प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक मूल्यविपरीत छ । उनले यसले महिला–पुरुषबीच असमानता र महिलाको स्वाभिमानमा चोट पुर्याउने बताएकी छन् ।
विज्ञप्ति जारी गर्दै संविधानले दिएको लैंगिक समानताको अधिकारअनुसार बहुविवाह पूर्णरूपमा निषेध गरिएको र यसलाई वैध बनाउने प्रयास स्वीकार्य नभएको उनको भनाइ छ । काँग्रेस नेतृले उक्त मस्यौदा तत्काल खारेज गर्न माग गरेकी छन् ।
‘बहुविवाह फौजदारी अपराध हो। यसलाई संशोधन गर्ने प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ । बेसमयको बाँसुरी किन बजाउन खोजियो, स्पष्ट छैन,’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘दोस्रो विवाह स्वतः बदर हुन्छ । पहिलो विवाह टुंग्याउनुअघि अर्को विवाह गर्न पाइँदैन । यस्तो अवस्थामा बहुविवाहको सुरक्षाको नाममा महिलाको अधिकारमाथि प्रहार गर्न खोज्नु पितृसत्तात्मक सोच हो ।’

टिप्पणीहरू