रविलाई भेटेपछि बाबुरामको गुनासो- राम्रो व्यवहार गरिएको छैन !
नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलमा राम्रो व्यवहार नगरिएको भन्दै चित्त दुखाएका छन् ।
सहकारी काण्डमा अदालतको आदेशले पुर्पक्षको सजाय काटिरहेका रविलाई भेट्न आज बिहान उनी भैरहवा कारागार पुगेका थिए । भेटपछि कारागार परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर बाबुरामले रविलाई एक्लै कोठामा राखिएको र पत्रपत्रिका पढ्नबाट समेत बन्चित गरिएको देखेर दु:ख लागेको प्रतिक्रिया दिए ।
‘पत्रपत्रिका पनि ल्याएर दिइँदो रहेनछ । हामी त पन्चायतकालमा पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो’, डाक्टरले चित्त दुखाउँदै भने ।
रवि जनप्रतिनिधि भएकाले बाहिरै बसेर मुद्दा लड्ने सुविधा पाउनुपर्ने तर्क पनि उनले गरेका छन् । ‘जनताको प्रतिनिधि भाग्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा जमानत गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो भनाइ हो’, उनको भनाइ छ ।
रवि एउटा राजनीतिक बन्दी भएकाले र एउटा वैकल्पिक नयाँ अभियानको हिसाबले सद्भाव प्रकट गर्न आएको उनले प्रष्ट्याए । पन्चायतकालमा सबैभन्दा लामो समय जेल बसेका मोहनचन्द्र अधिकारीदेखि अन्य राजनीतिक बन्दीलाई आफूले सद्भाव प्रकट गर्न जेलमा पुगेर भेट्ने गरेको उनले स्मरण गरे । तर, रवि राजनीतिक मुद्दामा जेल परेका होइनन् भन्नेतर्फ चैं बाबुरामको ध्यान पुगेको पाइएन ।
निर्वाचित जनप्रतिनिधिलाई थुनामा राख्दा जनतामाथि अन्याय हुने बाबुरामको जिकिर छ । विगतमा टोपबहादुर रायमाझीको हकमा पनि आफूले सभामुखसँग यसबारे कुरा गरेको उनले बताए ।
बाबुरामले यसअघि रवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भएका बेला पनि भेटेका थिए । केही समयअघि उनले रास्वपा मुख्यालय पुगेर रविको समर्थनमा हस्ताक्षर पनि गरेका थिए ।
देशको पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति अदालतमा मुद्दा विचाराधीन रहेका प्रतिवादीको समर्थनमा दस्तखत गर्न लाइन लागेर उभिएको उक्त घटना आलोचनामा पनि पर्यो । आफ्नै शक्तिमा विश्वास नराख्ने तर वैकल्पिक शक्तिको वकालत गर्ने बाबुरामले पछिल्लो समय रास्वपासँग निकटता बढाउन खोजेको देखिन्छ ।
यो पनि...
सरकारको निन्दा गर्दै रविलाई सान्त्वना
टिप्पणीहरू