पूर्वराष्ट्रपतिको पछि नहट्ने संकेत, नयाँ बानेश्वर नजिकै सम्पर्क कार्यालय

पूर्वराष्ट्रपतिको पछि नहट्ने संकेत, नयाँ बानेश्वर नजिकै सम्पर्क कार्यालय

नेकपा एमालेका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने तयारीबाट पछि नहट्ने अर्को संकेत दिनुभएको छ । यसअघि पत्रकार सम्मेलन गरेर कसैले चाहँदैमा आफ्नो सदस्यता खोस्न नसक्ने प्रष्ट अडान राख्नुभएकी उहाँले अब भने सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि अघि बढाउन लाग्नुभएको छ ।

आफ्नो सदस्यता खारेज गर्दै राजनीतिक प्रतिबन्ध लगाउने केन्द्रीय समितिको निर्णयलगत्तै भण्डारीले पत्रकार सम्मेलनमार्फत् दायाँबायाँ नहुने सन्देश दिनुभएको थियो । त्यसैअनुसार कार्यकर्ता भेटघाट र राजनीतिक गतिविधिलाई थप व्यवस्थित बनाउन नयाँ बानेश्वर नजिकै सम्पर्क कार्यालय खोल्न लागेको बुझिएको छ ।

थापागाउँमा तीन तले घर भाडामा लिइसकेको र छिट्टै कार्यालय स्थापना गर्ने तयारी भैरहेको उहाँसम्बन्धित स्रोतले जनाएको छ । बताइएअनुसार उक्त घर एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको निर्वाचनमा प्रचार–प्रसारका लागि प्रयोग गर्नुभएको थियो । २०५१ सालको मध्यावधी निर्वाचनमा विद्यादेवीले पनि त्यहीँबाट प्रचार–प्रसार गर्नुभएको थियो ।

मण्डला थियटर नजिकैको उक्त घरमा अब केही दिनमै औपचारिक रूपमा कार्यालय उद्घाटन गरिने छ । यसअघि भण्डारीले पार्टी कार्यालयमै कोठा उपलब्ध गराउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको थियो ।

साउन ५ गते च्यासलमा भएको ‘वान टु वान’ वार्ताका क्रममा त्यसबारे कुरा उठेको थियो । भंगाल निकट स्रोतका अनुसार भण्डारीले आफ्नो लागि कार्यकक्ष स्थापना गर्न ध्यानाकर्षण गराउँदा अध्यक्ष ओलीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो।

‘म यहाँ आएको बेला बस्न एउटा रुम बनाइदिनुपर्छ !’ भन्ने चासोमा ओलीले ‘हुन्छ’ भन्ने संकेतमा मुन्टो हल्लाएको स्रोतको दाबी छ । तर त्यसको भोलिपल्टै बसेको केन्द्रीय कमिटी बैठकले उहाँको सदस्यता नै खारेज गर्न निर्णय गरेपछि भण्डारी बाहिरै कार्यालय खोल्ने निर्णयमा पुग्नुभएको हो ।

सदस्यता खोसिए पनि मदन भण्डारी फाउन्डेसनमार्फत गतिविधि अघि बढाउने पूर्वराष्ट्रपति तथा उपाध्यक्ष भण्डारीको तयारी छ । १५ वर्ष माधवकुमार नेपाल र पाँच वर्ष झलनाथ खनालले पार्टीको नेतृत्व गर्दा केपीले पनि सोही फाउन्डेसनको आडमा आफ्नो समूह परिचालन गर्नुभएको थियो ।

टिप्पणीहरू