क्रिकेट मैदानको कार्यप्रगति खोज्दै संसदीय समिति
संसदीय समितिले कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो ।
त्यसपछिको समयमा भएको कार्यप्रगति समितिलाई उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले निर्देशन दिएका छन् । साथै समग्र कार्य प्रगति विवरण उपलब्ध गराउन समितिले पत्राचार गर्ने निर्णय भएको उनले बताए ।
‘त्रिवि क्रिकेट रंगशालाको कार्य प्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो त्यो उपलब्ध गराउनु भनेर समितिले निर्देशन दिन्छ । समितिको तर्फबाट पत्रचार गर्दछौँ’, गैरेले भने ।
अहिले त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीलाई हर्जाना भराई काम गराइएको छ ।
प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।
टिप्पणीहरू