प्रधानमन्त्रीविरुद्ध दलमर्दनको टोली सडकमा

प्रधानमन्त्रीविरुद्ध दलमर्दनको टोली सडकमा

समावेशी प्रणालीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति गैरजिम्मेवार रहेको ठहर गर्दै संयुक्त नागरिक पार्टी सडकमा ओर्लिएको छ । 

दलमर्दन कामी नेतृत्वको सो पार्टीले पिछडा वर्ग महासंघसँग मिलेर आज दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा दलमर्दन कामी, दलित जनजाति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान, दलित अभियन्ता डा. मित्र परियार लगायतको उपस्थिति थियो । 

प्रदर्शनकारीले संविधानप्रदत्त उत्पीडित जनताको अधिकारविरुद्ध प्रधानमन्त्री ओलीले दिएको गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिए माग गरेका छन् ।  गत आइतबार सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशी सिद्धान्तको विरुद्धमा धारणा राखेका थिए । 

राजनीतिक पदमा पुग्नका लागि मात्रै समावेशितालाई अभ्यासमा ल्याइएको उनको टिप्पणी थियो । नेपालको संविधानले नै समावेशी सिद्धान्तलाई अङ्गीकार गरेको तथ्यलाई अन्देखा गर्दै प्रधानमन्त्रीले समावेशी प्रतिनिधित्वले भन्दा क्षमता विकासले मात्रै सहभागिता बढ्ने दाबी गरेका थिए । 

संविधानको मर्म र भावना विपरित उनले समावेशीताबारे बहकिएर कुरा गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । प्रमको उक्त अभिव्यक्तिप्रति अन्य जातीय समुदायले पनि आपत्ति जनाइरहेका छन् ।

टिप्पणीहरू