पहिले चट्टान, अहिले हरियाली उद्यान

पहिले चट्टान, अहिले हरियाली उद्यान

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा पहिलेको बाँझो र चट्टानी भू–भागबाट हरियालीतर्फको सुन्दर परिदृश्यमा परिणत भइरहेको छ । प्राचीन संस्कृति र भव्य हिमाली दृश्यका लागि प्रसिद्ध यो ठाउँको मुहार परिवर्तन दशकौं लामो प्रयासका कारण सम्भव भएको हो । यो परिवर्तन कुनै एक समयको सपना मात्र थियो, तर आज साकार भएको अवस्था छ ।

ल्हासामा सन् २००० को प्रारम्भदेखि हरियालीको पहल थालिएको थियो । पहाडी र चट्टानी भू–भागको कारण यो कार्य त्यति सहज थिएन । ४ हजार मीटरको उचाइमा वृक्षरोपण गर्नु एउटा चुुनौतिपूर्ण कार्य हुने भएकाले यसलाई सामान्य रुपमा लिन नमिल्ने प्राविधिकहरुको बुझाई छ ।

सिजाङ वान्डुओ कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धक दाउ भन्छन्, ‘जब हामीले यो पहल सुरु गर्यौं, चुनौतिहरू विशाल थिए। पहाडका चट्टानी भागहरूमा खाडल खन्नु र त्यसमा रूख रोप्नु ठूलो संघर्ष नै थियो ।’ उनका अनुसार स्थानीय बासिन्दा र प्राविधिक टोलीको कठिन परिश्रमले यस कार्यलाई सफल बनाउन मद्दत पुर्याएको हो ।

११ क्षेत्रमा विभाजित उक्त परियोजनामा प्रत्येक क्षेत्रमा ११ देखि १३ जना कामदारको टोली खटाएर रूख–बिरुवाको निरन्तर हेरचाह गरियो। सिजाङ वान्डुओ कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका टिम लिडर मी जिउ भन्छन्, ‘३ हजारदेखि ४ हजार मीटरको उचाइमा हामीले हरेक दिन पहाड चढ्दै काम गर्नुपर्दथ्यो । मर्मत र हेरचाहका काम नगरेको अवस्थामा हाम्रा प्रयास सफल हुने सम्भावना थिएन। आज हामी गर्वका साथ भन्न सक्छौं कि हाम्रो कामको परिणाम ल्हासामा हरियाली छाएको छ ।’

सन् २०१७ मा ल्हासाको वन क्षेत्र ६ लाख ६६ हजार हेक्टर थियो । त्यतिबेला प्राकृतिक वनले ढाक्ने क्षेत्रको दर १९.५ प्रतिशत र शहरी हरियाली दर ३७.७ प्रतिशत थियो ।

सन् २०२१ मा उत्तरी र दक्षिणी पर्वत हरियाली परियोजना सुरु गरेर शहरका विभिन्न भागलाई हरित बनाउने कार्यलाई गति दिइयो। अहिले ती स्थानमा शहरी हरियाली दर ३८.८ प्रतिशत पुगेको छ । सन् २०३० सम्ममा समग्र वनले ढाक्ने दरलाई ३६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । उक्त प्रयासलाई सफल बनाउन ६५ संरक्षित नर्सरीहरू स्थापना गरिएका छन्, जसले भविष्यमा यो कार्यमा थप सहयोग पुर्याउने छ ।

सो कदमले ल्हासा अहिले विश्वभरका पर्यटक र स्थानीय बासिन्दाका लागि एक प्रेरणादायी उदाहरण बनेको छ । यो परिवर्तन एक दशक लामो संघर्ष र कडा परिश्रमको परिणाम भएकोले यसले भविष्यमा अन्य शहर र क्षेत्रहरूलाई पनि हरियाली र वातावरणीय सुधारका दिशामा मार्गदर्शन गर्ने बताइन्छ ।

स्रोत : सिसीटिभी प्लस ।

टिप्पणीहरू