पुरस्कार वितरणमा प्रमुख प्रशासकीय अधिकृतसँगै काठमाडौंका मेयर

पुरस्कार वितरणमा प्रमुख प्रशासकीय अधिकृतसँगै काठमाडौंका मेयर

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसहित सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा उनीसहित प्रथम खोखो विश्वकप–२०२५ का उपविजेता महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ प्रदान गरी सम्मान गरिएको छ ।

भारतको नोएडामा हालै सम्पन्न एमएफएन १७ मा भारतका चोंगरेंग कोरेनलाई हराउँदै ढाटले बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । बझाङका उनी यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

सम्मानपछि ढाटले थप हौसला मिलेको प्रतिक्रिया दिए । ‘महानगरले खेलाडीलाई सम्मान गरेकोमा म धेरै खुशी छु। आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोशिस गर्ने छु। यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ,’ उनले भने।

त्यस्तै, खोखोको पुरुष टोली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजित भएको थियो। महिला टोली पनि फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजित भएको थियो।

यद्यपि, कुनै पनि खेलमा नेपालले विश्वकप फाइनल खेलेको यो पहिलो अवसर हो।

सम्मान कार्यक्रममा महानगरका मेयर बालेन साह (बालेन), उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायतको उपस्थिति थियो।

टिप्पणीहरू