रवि बसेको कोठाको झ्यालमा जाली
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार चलान गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कोठाको झ्यालबाट प्लाइउड हटाइएको छ । कारागार कार्यालय,रुपन्देहीले उनको कोठाको झ्यालमा ठोकिएको प्लाइउड हटाएर जाली राखेको हो ।
त्यसैगरी, कार्यालयले उनी कारागारमा रहेदेखि नै टेलिफोन तथा भेटघाटको सुविधा दिएको स्पष्ट पारेको छ । कारागार प्रशासक शाखा अधिकृत सुरेश भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै उनी मात्र नभई सबै कैदीबन्दीलाई स्रोतसाधनले भ्याएसम्मको सुविधा दिँदै आएको जनाएका छन् ।
‘यस कारागारमा चार महिनादेखि सहकारी ठगी,संगठित अपराध मुद्दामा थुनुवाको रुपमा रहनुभएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको (अलग्गै एउटा कोठा) मा राखिएको छ’,विज्ञप्तिमा भनिएको छ,‘उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ । उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।’
२५० जना बन्दी राख्ने क्षमता भएको कारागारमा हाल ६४० जना बन्दी छन् । जुन क्षमताभन्दा तीन गुणा बढी हो । एउटै कोठामा दर्जनौं कैदीबन्दी कोचाकोच गरेर बसिरहेको अवस्थामा रविलाई पूर्वगृहमन्त्रीको हैसियतले छुट्टै कोठाको व्यवस्था गरिएको हो । उनलाई न्यूनतम मानव अधिकार नदिएको भन्दै विरोध भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिनअगाडि स्थलगत अनुगमन गरेको थियो । आयोगले उनी बसिरहेको कोठाको झ्यालमा ठोकिएको प्लाइउड हटाउन निर्देशन दिएपछि कार्यालयले जाली राखेको हो ।
टिप्पणीहरू