१० महिनामा सबै भूकम्पपीडितलाई नयाँ घर

१० महिनामा सबै भूकम्पपीडितलाई नयाँ घर

चीनको दक्षिण–पश्चिम सिचाङ स्वायत्त क्षेत्रको डिंग्री जिल्लाका १२ हजारभन्दा बढी भूकम्पपीडित आजदेखि नयाँ घरमा प्रवेश गरेका छन् । गत जनवरीमा गएको विनाशकारी भुकम्पको पुनर्निर्माण प्रयासमा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ ।

चिनियाँ समाचार समिति सिन्हवाका अनुसार पहिलो चरणमा दुई हजार ५७८ परिवारले नयाँ घर पाएका छन् । गत जनवरी ७ मा सो क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले १२६ जनाको ज्यान गएको थियो भने हजारौं घरहरू ध्वस्त भएको थियो ।

शिगाजे आवास तथा शहरी–ग्रामीण विकास विभागका प्रमुख पाङ जिआनका अनुसार, नयाँ घरको डिजाइन स्थानीय जीवनशैली र वास्तविक आवश्यकतालाई ध्यानमा राखेर बनाइएको छ । अधिकांश घर मूल स्थानमा पुनर्निर्माण गरिएका हुन् । तर, पहिरो वा बाढीको जोखिमयुक्त क्षेत्रमा रहेका घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नयाँ घरलाई ८ म्याग्निच्युडसम्मको भूकम्पले असर नपुर्याउने दाबी गरिएको छ । प्रभावित परिवारमध्ये निमा छिरिङको परिवारलाई २१० वर्गमिटरको दुई तले तिब्बती शैलीको घर निःशुल्क प्रदान गरिएको हो । नयाँ घरमा प्रवेश गरेका उनले भने, ‘मैले केही नयाँ फर्निचर किनें । हामी नयाँ जीवनका लागि तयार छौं ।’

नयाँ घरहरू परिवारको आकारअनुसार वितरण गरिएको छ । प्रत्येक घरमा भान्सा, स्नानघर (शावरसहित) र सौर्य ऊर्जा र तातोपानीको व्यवस्था छ । साथै, स्थानीय सरकारले बासिन्दाको आर्थिक भार घटाउन फर्निचर र उपकरण खर्चमा २५ प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।

पुनर्निर्माण योजनाअनुसार आठ हजार ३०० बासिन्दा अर्थात् एक हजार १४५ परिवारलाई अगामी पाँच दिनभित्र नयाँ घरमा प्रवेश गराईंदै छ । बाँकी सबैलाई अक्टोबरको अन्त्यसम्म नयाँ घरमा प्रवेश गराएपछि आगामी जाडोमा उनीहरु सुरक्षित हुने अधिकारीहरुको विश्वास छ ।

टिप्पणीहरू