प्रिमियर लिगमा सिटी र टोटेन्हामको विजयी शुरूवात
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेन्हाम हट्स्परले विजयी शुरूवात गरेका छन् । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ४-० गोलले पराजित गरेको हो ।
मोलिनेक्स स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन इर्लिंङ ब्राउट हालान्डले दुई गोल गर्दा टिजानी रिज्न्डेर्स र रायन चेर्कीले समान एक/एक गोल गरे । खेलको ३४ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई शुरूवाती अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा ओस्कार बबको पासमा रिज्न्डेर्सले गोल गर्दै सिटीलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।
६१ औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० गोलको अग्रता दिलाएका थिए । यस्तै ८१ औँ मिनेटमा चेर्कीले गोल गर्दै सिटीलाई ४-० गोलको सहज जित दिलाएका हुन् ।
यस्तै गएरातिनै भएको अर्को खेलमा टोटेन्हामले बर्नलीलाई ३-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन रिचार्सिसनले दुई गोल गर्दा ब्रेनान जोन्सनले एक गोल थपे । टोटेन्हामले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो ।
जितसँगै म्यानचेस्टर सिटी र टोटेन्हामले समान तीन/तीन अंक जोडेका छन् ।
टिप्पणीहरू