प्रधानमन्त्री ओलीलाई एकछिनमा दिल्लीको निम्तो पत्र आइपुग्दै
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री एकछिनपछि काठमाडौं आइपुग्दैछन् । उनी वायुसेनाको विशेष विमानमा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर सोझै हाेटल द्वारिका जाने कार्यक्रम छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आउन लागेका भारतीय पाहुना होटलमा केहीबेर आराम गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न साढे १० बजे बालुवाटार जाने र त्यहाँबाट शीतल निवास पुग्ने बुझिएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि मिश्री काँग्रेस सभापतिलाई भेट्न बूढानीलकण्ठ जाँदैछन् ।
बूढानीलकण्ठबाट सोझै खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहीबेर कुराकानी गर्नेछन् । अपरान्ह परराष्ट्रमन्त्री आरजु राणा देउवालाई मन्त्रालयमा भेटेपछि समकक्षी सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सो क्रममा दुई मुलकबीच साझेदारीका विभिन्न पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भदौ अन्तिम साताको लागि गरिएको छ । सोही सन्दर्भमा भारतीय विदेशसचिव प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो बोकेर आउन लागेका हुन् ।
सचिव मिश्रीको सम्मानमा परराष्ट्र सचिव राईले आजै बेलुकी रात्रिभोज दिँदैछन् । भोलि मध्यान्ह पशुपतिनाथको दर्शन गरिवरी उनी उतै उतै विमानस्थल गएर नयाँ दिल्ली प्रस्थान गर्ने बुझिएको छ ।
टिप्पणीहरू