भेटघाटमा पटकपटक कता हराउँछ शिष्टाचार ?
कूटनीतिमा सामान्य संकेतले पनि धेरै कुराको अर्थ राख्छ भनिन्छ । अनौपचारिकताको बढी महत्व रहने भएकाले कूटनीतिक भेटघाटमा पहिरन, हात मिलाई र बसाइको पोजिसनले पनि धेरै संकेत गरेको हुन्छ । विशिष्ट ओहदाका व्यक्तिसँग बस्दा मर्यादा पालन गर्ने हो भने दुवै गोडा भुइँमा राखेर बसेको हुनुपर्छ । गोडा खप्टाएर बस्नु शोभनीय मानिंदैन ।
गोडा चढाएर बस्दा खुट्टा उचालिएर जुत्ताको तलुवा देखिने हुँदा त्यसले असम्मान झल्काउँछ । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा त झन् पोशाकको समेत उत्तिकै महत्व हुन्छ । अस्ति आइतबार प्रधानमन्त्री कार्यालयमा भने फरक दृश्य देखियो । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्री अमर्यादित रुपमा देखा परे ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा उनको बसाइ कूटनीतिक आचरणअनुरुप भएन । सार्वजनिक फोटोमा उनी प्रधानमन्त्रीको अगाडि उपरखुट्टी लगाएर बसेको देखिन्छ । प्रधानमन्त्री ओली भने दुवै खुट्टा तल राखेर मर्यादित आसनमा बसेका छन् । ठ्याक्कै यस्तै भङ्गिमा पूर्व राजदूत राकेश सुदले देखाएका थिए ।
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो पत्र लिएर मिश्री आइतबार बिहान काठमाडौँ ओर्लिएका थिए । लगत्तै राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मलाई पालैपालो भेटघाट गरे । शुरुमा प्रधानमन्त्री ओलीलाई भेटेका मिश्रिले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरे । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै भेटेका उनले परराष्ट्रमन्त्री आरजु राणासम्मलाई भेट्न भ्याए ।
भेटघाटको सिलसिला मंगलबार अपराह्न दिल्ली उड्नुअघिसम्म चल्यो, जहाँ मधेसवादी दलका नेतालाई उनले आफू बसेकै होटल द्वारिकाजमा बोलाएर एकमुस्ट भेटवार्ता गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा बुझाउन आएका उनलाई नेपाल सरकारले विशेष महत्व दिएको थियो । राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र सबै दलका नेताले भेट्न उत्साह देखाएका थिए ।
त्यसो त, भारतीयहरू यस्ता भेटघाटमा अनौपचारिक हिसाबले प्रस्तुत हुने गरेको यो नै पहिलो घटना भने होइन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला भारतीय राजदूत चप्पल लगाएर भेट्न पुगेको सन्दर्भ बेला बखत चर्चा हुने गर्छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारसँगको एउटा अनौपचारिक भेटघाटमा भारतीय राजदूतले आफ्नो अगाडि उपरखुट्टी लगाएर बस्दा असहज महसुस हुने गरेको अनुभूति सुनाएका थिए ।
भारतीय दूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रममा स्वयं राजदूत अनौपचारिक पोशाकमा उपस्थित भैरहेका हुन्छन् । नेपालका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरूको सहभागीता रहने त्यस्ता कार्यक्रममा पदीय मर्यादासमेत राखेको पाइंदैन । केही दिनअघि स्वतन्त्रता दिवस मनाउन आयोजित कार्यक्रममा राजदूत नविन श्रीवास्तव टिसर्टमा देखिएका थिए । सहसचिव स्तरीय कर्मचारीलाई भेट्न उनी बसेकै होटलमा लाइन लाग्न पुग्ने हाम्रो दब्बु मानसिकताका कारण कूटनीतिक प्रोटोकल केवल देखाउने दाँत भएको छ ।
टिप्पणीहरू