बुटवलमा सुन तस्करी, भारतीयलाई करोड र नेपालीलाई ५२ लाख जरिवाना

बुटवलमा सुन तस्करी, भारतीयलाई करोड र नेपालीलाई ५२ लाख जरिवाना

 राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान कार्यालय बुटवलले सुन तस्करीको अभियोगमा एक भारतीयसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । भारतको पञ्जाब जिल्ला अमृतसर, न्यूप्रताप नगर जी.टी. रोड बस्ने कुलदिप सिंहविरुद्ध एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तीस पैसा जरिवाना र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय माग गरिएको छ ।

भारतीय नागरिक सिंहसहित रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, कोटीहवा बस्ने रामबहादुर बिकविरुद्ध पनि रुपन्देही जिल्ला अदालत सिद्धार्थनगर, भैरहवामा अभियोग पत्र दायर गरिएको अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

सिंह र बिकले सुनका गरगहनाको खरिद स्रोत, बिल–बिजक तथा भन्सार प्रज्ञापन पत्र नभएका सुनका गरगहना भन्सार चोरी पैठारी गरी कारोबार गरेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ । यसरी भन्सार महसुल लुकाई गरिएको व्यापार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य अन्तर्गत पर्ने घिमिरेको भनाइ छ ।

अनुसन्धानअनुसार बिक, सिंहका मतियार भएको पुष्टि भएकाले उनलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा अर्थात् ५२ लाख ५४ हजार दुई सय छ रुपैयाँ जरिवाना र कैद सजाय माग गरिएको छ ।

पछिल्लो समय चोरी–तस्करीविरुद्ध धमाधम मुद्दा चलाउँदै आएको बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले बहुमूल्य धातु सुन–चाँदीको तस्करीको जालो पनि चिर्दै गएको छ । केही महिना पहिले ‘भेप’ मार्फत सुन तस्करी गर्नेहरूमाथि पनि मुद्दा चलाइसकेको कार्यालयले सुन–चाँदी व्यवसायीहरूले गैरकानुनी कारोबार गरिरहेको थप जानकारी पाएको जनाएको छ ।

टिप्पणीहरू