प्रमकै जिल्लाबाट हुल प्रस्थान
झापा जिल्लाबाट प्रतिनिधित्व गर्ने केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । सबैभन्दा धेरै (४ पटक)कम्युनिष्ट प्रधानमन्त्री बनेर रेकर्ड राख्न सफल ओलीकै गृह जिल्ला झापाबाट मात्र वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ प्रतिशत हाराहारी रहेको एउटा तथ्यांक सार्वजनिक भएको छ ।
गत आर्थिक वर्ष ८ लाख ३९ हजार युवा रोजगारी खोज्दै विश्वका १५१ मुलुक पुगेका छन् । तिनैमध्ये झापाबाट मात्र ३८ हजार ८०० युवा मरुभूमितिर पुगेका हुन् । यो संख्यामा भारत पुग्ने कामदारको हिसाब समेटिएको छैन । झापा जिल्लाबाट ७ हजार ६३१ महिला र ३१ हजार १ सय ६९ पुरुष वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका हुन् । यस्तै जिटुजी सम्झौताअन्तर्गत रोजगारीमा जाने १३१ महिलासहित ६९१ रहेका छन् । वैदेशिक रोजगारीको निम्ति सबैभन्दा धेरै जानेमा धनुषा पहिलो र झापा दोश्रो स्थानमा छन् ।
धनुषाबाट ४०१ महिलासहित ४४ हजार ७४४ जना गएका छन् । सिरहाबाट २३३ महिलासहित ३४ हजार ५९३ श्रम खोज्दै विदेश पुगेका छन् । मोरङबाट ५१८७ महिलासहित ३४ हजार ४६७, महोत्तरीबाट ३९४ महिलासहित ३० हजार ९८७ श्रम खोज्दै विदेश पुगेका हुन् । सुनसरी २७ सय ५४ महिलासहित २७ हजार १६०, रूपन्देहीबाट २२८७ महिलासहित २६ हजार ४५१ जना विदेश पुगेको तथ्यांक छ । सर्लाहीबाट २२ हजार ६०१ पुरुषसहित १३ सय ५८ जना महिला गरी २३ हजार ९५९ श्रम खोज्दै विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागले दिएको तथ्यांकअनुसार, सप्तरीबाट २१ हजार ४७१ पुरुष र २८७ महिला गरी २१ हजार ७५८ जना रहेका छन् । यस्तै, चितवनबाट २१ हजार १३४ जना रोजगारीको सिलसिलामा विदेश पुगेका छन् । महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङ्गबाट वैदेशिक रोजगारीमा जानेको संख्या १८ हजार ९ सय २२ छ । रोजगारीको सिलसिलामा सबैभन्दा धेरै तराईका युवाहरू विदेश पुगेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष धनुषाबाट ३९ हजार १०७ जना विदेश गए भने गत वर्ष ५ हजार ६३७ युवा थपिएर ४४ हजार ७४४ बाहिरिएको देखिन्छ । यस्तै अघिल्लो आर्थिक वर्ष झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा पुगेका थिए भने गत वर्ष ४ हजार ४ सय ३८ युवा थपिएर झापाबाट मात्र ३८ हजार ८ सय रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए ।
गत ०८०/०८१ मा ७ लाख ४१ हजार नेपाली विदेश जाँदा पछिल्लो आर्थिक वर्ष ९८ हजार २ सय ६६ थपिएर ८ लाख ३९ हजार २६६ जना रहेका छन् । जसमा महिलाको संख्या ९४ हजार ४ सय ५५ रहेको छ । जसमध्ये हाइ स्किल भएका ६९२ पुरुष र २४५ महिला गरी ९३७ जना छन् । यस्तै, प्रोफेशनल ६२३ महिलासहित ४३७२, सेमी स्किल ९९ हजार ७२३ रहेका छन् भने केही सीप नभएका २ लाख २७ हजार ४०७ जना जनशक्ति विदेश पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।
यसैबीच, श्रममन्त्री शरद्सिंह भण्डारीले कुर्सीबाट हट्नै लाग्दा म्यानपावर व्यवसायीलाई पोस्ने गरी एउटा कार्यविधि सुटुक्क स्वीकृत गराएका छन् । मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई दिने गरी अघिल्लो वर्ष बनाएको कार्यविधि मन्त्रीबाट हट्नुअगाडि पास गराएको मन्त्रालय स्रोतको भनाई छ । हाल नेपाली कामदारहरू इपिएस प्रणालीअन्तर्गत अर्थात जिटुजीमार्फत गइरहेका छन् । यसरी जाँदा नेपाली कामदारले टिकटबाहेक अरु शुल्क तिनुपर्दैन । बर्सेनि दशौं हजार श्रमिक जाँदा सरकारी अधिकारीहरू चिल्लै हुँदै आएकोमा सीमित म्यानपावरलाई यो जिम्मा लगाएर सरकारी कर्मचारीले समेत मह चाट्न पाउनेगरी कार्यविधि स्वीकृत भएको मन्त्रालय स्रोतको भनाइ छ ।
टिप्पणीहरू