बैठक सत्तापक्षको, सांसद प्रतिपक्षका
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएको बैठकमा विपक्षी दलका नेताहरू पनि सामेल भएका छन् ।
आज दिउँसो दुई पार्टीका प्रमुख सचेतकले बोलाएको संयुक्त छलफलमा विपक्षी खेमामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका नेता सहभागी भएका हुन् । केही समयअघि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएका यी दुवै पार्टी अहिले प्रतिपक्षमा छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा जसपाको तर्फबाट प्रमुख सचेतक रेखा यादव सहभागी भइन् । नाउपाबाट अध्यक्ष रन्जिता आफैँ गइन् । बहुमत केन्द्रीय सदस्यको भेलाले निष्कासनको कारवाही गरेकोमा निर्वाचन आयोगको निर्णयले उनको पद थमौती भए पनि नाउपाभित्रको विवाद उस्तै छ ।
उपसभामुख इन्दिरा रानालाई हटाउनका लागि महाभियोग लगाउन बिहान हस्ताक्षर संकलन गरेका कांग्रेस र एमालेले थप रणनीति बनाउन गठबन्धनका साना दलसँग छलफल गरेका हुन् । जहाँ विपक्षमा रहेका दुई पार्टीका नेता पनि दौडिएर पुगेका हुन् ।
उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीविरुद्ध काउन्टर रणनीति बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलको पनि बैठक बसेको छ । सिंहदरबारमै बसेको सो बैठकमा भने जसपा र नाउपाले प्रतिनिधि पठाएनन् ।
सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेको भोलिपल्ट एकाएक कांग्रेस एमाले उपसभामुख हटाउन तम्सिनु अनि प्रतिपक्षमा पुगेका उपेन्द्र यादवले आफ्ना संसदलाई सत्तासिन पार्टीहरुको बैठकमा पठाउनु अर्थपूर्ण रहेको बताइन्छ ।
स्मरणीय छ, उपसभामुख हटाउन आवश्यक दुई तिहाई संख्या कांग्रेस र एमालेसँग छैन । विपक्षमा रहेका साना पार्टीलाई विभिन्न प्रलोभन देखाएर संख्याको जोडजाड गरिरहँदा कांग्रेसभित्रै एउटा समूह यो प्रक्रियाको विपक्षमा देखिन्छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित शेखर कोइराला खेमाका सांसदहरुले आज बिहानको सादा कागजमा हस्ताक्षर नगरेबाट पनि उक्त कुरा छर्लंग हुन्छ ।
टिप्पणीहरू