मुख्यमन्त्रीले होटल पसेर भेटे पूर्व रास्ट्रपतिलाई
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको गोप्य भेटवार्तामा उहाँले उक्त असन्तुष्टि राख्नुभएको बताइन्छ ।
कार्कीले भण्डारीसँग छुट्टै भेटेपछि एमालेभित्र विवाद र आलोचना एकैसाथ सिर्जना भएको छ । भेटमा पूर्वराष्ट्रपतिले एमाले नेतृत्वले आफूलाई अपमान गरेको गुनासो गर्नुभएको बुझिएको छ । विराटनगरबाट निस्कने उद्घोष दैनिकको वार्षिकोत्सव समारोहमा सहभागी हुन विराटनगर पुग्नुभएकी भण्डारीसँग मुख्यमन्त्री कार्कीले हिजो साँझ सुटुक्क बिग होटलमा भेटघाट गर्नुभएको हो ।
‘पूर्वराष्ट्रपतिले सरकारको कामबारे सोध्नुभएको थियो । मैले संक्षेपमा जानकारी दिएँ । उहाँसँग हाम्रो पुरानो दिदी–भाइको सम्बन्ध पनि छ ।’
भेटको सुरुवातमै भण्डारीले प्रदेश सरकारको कामकारबाहीबारे चासो राख्नुभएको र आफूले संक्षिप्त जानकारी दिएको मुख्यमन्त्री कार्कीले जनआस्थासँगको कुराकानीमा बताउनुभयो । उहाँका अनुसार, ‘पूर्वराष्ट्रपतिले सरकारको कामबारे सोध्नुभएको थियो । मैले संक्षेपमा जानकारी दिएँ । उहाँसँग हाम्रो पुरानो दिदी–भाइको सम्बन्ध पनि छ ।’
भण्डारीले कुराकानीमा पार्टीले रोक लगाएको सम्बन्धमा आफूले कहिल्यै कल्पना नगरेको बताउनुभएको थियो । कार्कीले उहाँको भनाई उद्धृत गर्दै भन्नुभयो, ‘सदस्यता नवीकरण गराइसकेकी थिएँ,तर पार्टीले जे निर्णय गर्यो,त्यो कल्पनाभन्दा बाहिरको कुरा भयो ।’
भण्डारीले आफू जनताको सेवाबाट पछि नहट्ने सन्देश कार्कीमार्फत् नेतृत्वलाई अवगत गराउनुभएको बुझिएको छ ।
टिप्पणीहरू