कांग्रेस-एमालेका सांसदलाई ‘धिक्कार होस्’ भनेपछि संसदमा कलह
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीबीच भनाभन भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा कार्कीले एमाले र नेपाली कांग्रेसका सांसदहरूले खाली पानामा हस्ताक्षर गरेकोप्रति कटाक्ष गर्दै ‘धिक्कार होस्’ भनेपछि भनाबैरी चलेको हो । उनले उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तासिन पार्टीले घिनलाग्दो रणनीति बनाएको दाबी गरिन् ।
‘हिजो दिनभरी नौटंकी देखियो, एमाले र नेपाली काँग्रेसहरुले आफ्ना माननीयज्यूहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने खबर सुनियो, यो केका लागि त भन्दा उपसभामुखलाई अविश्वसाको प्रस्ताव, महाअभियोग लगाउने रे !’, कार्कीले भनिन्, ‘उहाँहरूलाई संवैधानिक परिषदमा बहुमत पुगेन, बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो, दुई पार्टीले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएका छन्, त्यसरी सही गराउने कस्तो पार्टी, सही गर्ने कस्ता माननीयहरु ? धिक्कार होस् !’
कार्कीको उक्त अभिव्यक्तिप्रति एमाले सांसद थापा क्षेत्रीले तत्काल आपत्ति जनाए । उनी कुर्सिबाट उठेपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू किन उठ्नुभएको छ ? के कुरा हो ?’ भनेर सोधेका थिए । उनले माइक नपाउँदै सांसद कार्कीले रिसाउँदै जवाफ फर्काइन्, ‘उहाँको बानी त्यस्तै हो, जहिले पनि जुरुक्क जुरुक्क उठ्नुहुन्छ ! जे कुरामा पनि उठ्नुहुन्छ, बोल्न दिनुस् !’ त्यसपछि थापा क्षेत्रीले संसद नियमावलीको नियम २१ को घ अनुसार नियमापत्ति रहेको बताए ।
‘आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलाैजपूर्ण र अपमानपूर्ण यस्ता अभिव्यक्तिलाई त्यो कुर्सीबाट निषेधित गर्नुपर्छ, मान्य सदस्यज्यूले जुन अभिव्यक्ति दिनुभएको छ, त्यो रेकर्डबाट हटाउनुपर्छ’, उनले आक्रमक हुँदै भने, ‘हामी मण्डलेतन्त्रविरुद्ध लडेर आएका सार्वभौम जनताका प्रतिनिधि हौँ, कस्ता कागजमा सही गछौँ, जानेर र बुझेर गछौँ, सिकाइरहनु पर्दैन ।’
त्यसपछि सभामुख घिमिरेले पुनः कार्कीलाई बोल्न समय दिए । अनि उनले थपिन्, ‘एमाले र कांग्रेसले दुई दलीय शासन प्रणालीमा लैजान आँटिरहेका छन्, त्यसैले उतापट्टी (सत्तापक्षको कुर्सी) बस्ने साना दललाई म भन्छु, सचेत हुनुहोस्, तपाईहरु आफ्नै बाघको शिकार हुनुहोला !’
टिप्पणीहरू