काँग्रेस महामन्त्रीको कुरा बेग्लै

काँग्रेस महामन्त्रीको कुरा बेग्लै फाइल फाेटाे

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्याको आधारमा गरिने सबै निर्णय वैधानिक नहुने टिप्पणी गरेका छन् । उपसभामुख फेर्ने रणनीतिसहित नेकपा (एमाले) र कांग्रेसले सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको पृष्ठभूमिमा उनको पछिल्लो अभिव्यक्ति आएको छ ।

थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको स्मारिका विमोचन कार्यक्रममा बोल्दै जनताले स्वीकार गरेको निर्णय नै वैधानिक हुने बताए । ‘प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन’, उनले भने, ‘संख्याको आधारमा एउटा निर्णय हुन सक्छ, तर आम मानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुराले अर्थ राख्छ, सबैले स्वीकार गरे भने मात्र त्यो वैध हुन्छ ।’

पार्टीको हकमा पनि सोही नियम लागू हुने थापाको तर्क छ । उनले भनेका छन्, ‘संसदमा होस् वा पार्टीमा, पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरे पनि आम पार्टीपंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ, त्यहाँ पनि सबै नेता तथा कार्यकर्ताले स्वीकारे मात्रै वैध हुन्छ ।’

सरकारको कामकारबाही र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै आएका थापाले पार्टीको विचार र मूल्यमान्यतासँग सम्झौता गरेर लामो समय सत्तामा नरहने संकेत पनि दिएका छन् । ‘सरकारमा पुग्ने भनेको सर्शत हो, निःर्शत होइन । कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ, त्योसँग सम्झौता गरेर सत्तामा टिकिरहने भन्ने कुरा हुँदैन’, उनले थपे ।

टिप्पणीहरू