तीजको दिन पशुपतिमा व्रतालुको भीड कम

तीजको दिन पशुपतिमा व्रतालुको भीड कम

हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको संख्या कम देखिएको छ । विगतका वर्षहरूमा घुइँचो लाग्ने पशुपतिमा आज निकै कम संख्यामा व्रतालु देखिएका छन् । 

अघिल्ला वर्षहरुमा बाक्लो भीडभाड भएकाले प्रहरीले यो वर्ष ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो । तर, अपेक्षा गरिएको भन्दा निकै कम संख्यामा दर्शनार्थीहरु आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार तीजलाई मध्यनजर गरेर गौशाला क्षेत्रमा २५ सय हारहारी सुरक्षाकर्मी खटाइएको छ । 

स्थलगत अनुगमनमा रहेका परिसरका एसपी अपीलराज बोहराले पनि मन्दिर परिसरमा कुनै चाप नरहेको जानकारी दिए । ‘व्रतालुहरु नभएका त होइनन्, तर अघिल्ला वर्षहरुको तुलनमा आधा कम छन्’, उनले भने, ‘बिहानैदेखि लामो भीड हुन्थ्यो, पूजाको लागि घण्टौ कुर्नुपर्थ्यो । यस पटक त्यस्तो केही छैन, भीड कम छ ।’

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजलाई लक्षित गरेर मन्दिर परिसरमा शीतलताको लागि पानीको फोहोरा समेत छर्किएको छ । पहिलोपल्ट सञ्चालनमा ल्याइएको उक्त विधि प्रभावकारी देखिएमा निरन्तर सञ्चालनमा ल्याइने पशुपति विकास क्षेत्र कोषले जनाएको छ ।
 

टिप्पणीहरू