उद्योग विभागमा निवेदन दर्तापछि बेपत्ता व्यवसायीहरुको खोजी
वर्षौँअघि ट्रेडमार्क दर्ताका लागि दरखास्त दिएका व्यवसायी तथा उद्योगीको खोजी थालिएको छ । उद्योग विभागले तोकिएका कागजात नबुझाएका वा दस्तुर तिरेर पनि प्रमाणपत्र लिन नआएकाहरूबारे खोजतलास गरिएको जनाएको छ ।
विभागले त्यस्ता दरखास्तवालालाई आगामी ९० दिनभित्र तोकिएका कागजात पेश गर्न वा विभागमा सम्पर्क राख्न आग्रह गरेको छ । जारी सूचनामा अन्यथा दरखास्त खारेज हुने चेतावनी दिइएको छ ।
विभागको ट्रेडमार्क शाखाका निर्देशक सरोज पोखरेलका अनुसार १०–१५ वर्षअघि निवेदन दिएर सम्पर्कविहीन भएकाहरुको कारण नयाँ आवेदकलाई पनि समस्या परेकोे छ । एकजनाले दिएको नाममा अर्कोले पुनः आवेदन दिन नपाउने व्यवस्था भएकाले पुराना निवेदनले अवरोध सिर्जना गरेको उनको भनाइ छ।
सूचनामा भनिएको छ, ‘उल्लिखित अवधिभित्र सम्पर्क राख्न नआएमा कागजात नपुगेका वा दर्ता प्रमाणपत्र नलिएका दरखास्तवालाको दरखास्तउपर कुनै कारबाही नगरी यो सूचना प्रकाशन भएको ९१औं दिनमा दरखास्त खारेज हुनेछ।’
यस्तै, पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार दर्ता भएको ट्रेडमार्क धनीले एक वर्षभित्र प्रयोगमा ल्याउनुपर्ने व्यवस्था छ । विभागले ट्रेडमार्क प्रयोगमा ल्याएका व्यवसायीलाई उत्पादनको नमुनासहित ६० दिनभित्र जानकारी गराउन पनि अनुरोध गरेको छ ।
टिप्पणीहरू