कांग्रेस कार्यालयमा गुरूहरुको धर्ना
नेपाल शिक्षक महासंघले सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरू आज महासंघको अगुवाइमा कांग्रेस कार्यालयअगाडि धर्ना बसेका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीले दुई घण्टासम्म धर्ना दिने बताएको छ । अध्यक्ष सुवेदी कांग्रेस निकट हुन् ।
संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विधेयकमा महासंघले उठाएका माग समावेश गर्न दबाब दिने उद्धेश्यले आन्दोलनमा उत्रिएको उनले जानकारी दिए । सार्वजनिक शिक्षालाई उन्नत बनाउन शिक्षक, कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका माग सम्बोधन गर्नुको विकल्प नरहेको सुवेदीको भनाइ छ ।
विधेयक सच्याउन महासंघले भदौ २१ गतेसम्मको अल्टिमेटम दिएको छ । त्यतिबेलासम्म प्रमुख दलको कार्यालयमा धर्ना, संघीय सदन र शिक्षा समिति घेराउ, स्थानीय सरकार प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यतालिका तय गरेको महासंघले काठमाडौँ केन्द्रीत सडक आन्दोलनको चेतावनीसमेत दिएको छ ।
त्यसैअन्तर्गत आज कांग्रेस मुख्यालय पुगेका गुरुहरु भोलि नेकपा एमाले र पर्सि माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने तयारीमा छन् ।
महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ । तर, विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ ।
विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघको आक्रोश रहँदै आएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विधेयक भदौ ५ मा पारित गरिएको थियो । विधेयकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।
तस्बिरहरु





टिप्पणीहरू