उताबाट विद्युतीय सवारी साधन, यताबाट विशेष घाँस
सिजाङको छाम्दोमा आयोजित व्यापार मेलामा नेपाली हस्तकलाको स्टल
चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बत (सिजाङ) स्वायत्त प्रदेशले चालु आर्थिक वर्ष २०२५ को पहिलो सात महिनामा नेपालसँगको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको त्यहाँको भन्सार विभागले जनाएको छ । यस अवधिमा सिजाङबात भएको निर्यात र आयातको कुल मूल्य २.५७८ अर्ब युआन अर्थात् झण्डै ३६ करोड २९ लाख अमेरिकी डलर पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.४ प्रतिशतले बढी रहेको बताइन्छ ।
विशेषगरी, नेपालतर्फ विद्युतीय सवारीसाधन (न्यू एनर्जी भेइकल्स) को मात्रा १७.६ प्रतिशतले बढेर १.०१५ अर्ब युआन पुगेको छ । नेपाली बजारमा ती सवारी साधनको माग बढेको र ल्हासा भन्सार विभागले लागू गरेका सरलीकृत सीमा–शुल्क प्रक्रियालाई सवारी साधन वृद्धिको मुख्य कारण मानिएको छ।
आयाततर्फ, नेपालबाट सिजाङले करिब १,१०४.३ टन साइलेज अर्थात घोडा, चौंरीका लागि घाँस आयात गरेको छ । उक्त घाँस करिब ७ लाख ९० हजार युआन बराबरको नेपालबाट आयात गरिएको सिजाङ भन्सारले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा परिमाणमा ८३.५८ प्रतिशत र मूल्यमा ८४.६८ प्रतिशत वृद्धि हो ।
ल्हासा भन्सार विभागले नयाँ क्लियरेन्स मोडल र विशेष च्यानलका कारण व्यापार वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको निश्कर्ष निकालेको छ । पछिल्ला सुधारपछि ढुवानी कार्यक्षमता ५० प्रतिशतले बढेको छ भने साइलेज आयातमा निरीक्षण समय करिब ८० प्रतिशतले घटेको बताइन्छ ।
यसले चीन–नेपालबीचको आर्थिक सहकार्य अझ गहिरिँदै गएको पुष्टि भएको छ । विगतमा भएका दुबै मुलकका उच्चस्तरीय भेटघाट र आदानप्रदानपछि सिजाङ–नेपालबीचको व्यापारमा उल्लेखनीय सुधार आएको चिनियाँ पक्षको बुझाइ छ ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू