मन्त्री जुरुक्क उठेपछि सांसदको डाइलग ‘हामी खटिने, उहाँ ढिलो आउने, बीचमै हिँड्ने ?’

मन्त्री जुरुक्क उठेपछि सांसदको डाइलग ‘हामी खटिने, उहाँ ढिलो आउने, बीचमै हिँड्ने ?’

संघीय निजामति सेवा विधेयकमा कर्मचारीको अवकाश उमेर हदसम्बन्धी विषयमा विवाद भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बैठक छाडेर हिँडनुभएको छ । आज सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षीले आफ्नो अडान नछाडेपछि मन्त्री न्यौपाने बैठकबाट निस्किनुभएको हो । 

प्रतिनिधिसभाबाट विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ मा अवकाश हुने, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्ष कायम रहने प्रावधान पास भइसकेको अवस्थामा मन्त्री न्यौपानले विधेयक ऐनमा रुपान्तरित भएको आर्थिक वर्षबाट ५९ वर्षमा अवकाश हुने प्रावधान लागू गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । तर प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले त्यसमा ठाडै असहमति जनाएको बताइन्छ । 

सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरुले मन्त्री न्यौपानेको प्रस्तावमा सहमति जनाए पनि प्रतिपक्षी दलका सांसदहरुले प्रतिनिधिसभाबाट पारित भइसकेको प्रावधानमाथि छेडखानी गर्न नपाइने भन्दै विरोध जनाएका थिए । आफूले राखेको प्रस्ताव सजिलै पारित नहुने देखिएपछि मन्त्री न्यौपाने बैठकबाट जुरूक्क उठेर हिँडेको माओवादी सांसद झक्कुप्रसाद सुवेदीले जानकारी दिए । 

मन्त्री न्यौपाने हिँडेपछि सुवेदीले तत्काल आपत्ति जनाउँदै भने, ‘हामी चाहिँ बिहानदेखि साँझसम्म खटिने, अनि मन्त्री चाहिँ आफैं ढिलो आउने, अनि बीचमै हिँड्ने ?’, उहाँको भनाइ थियो, ‘संसदमाथि सरकार हावी हुन खोज्यो, सदनबाट पारित भएको प्रावधान तलमाथि पार्ने कुरामा समर्थन गर्न सकिन्नँ ।’

समिति सभापति तुलसाकुमारी दाहालले मन्त्री न्यौपाने भोलिसम्मको समय मागेर बैठकबाट निस्किएको जानकारी दिइन् ।

टिप्पणीहरू