बेइजिङ परेडमा ‘षड्यन्त्र’ लुकेको अमेरिकी नजर
चीनले सोमबार थिएन्चिनमा सम्पन्न गरेको सांघाई सहयोग संगठन (एससिओ) को २५ औं शिखर सम्मेलनदेखि आज बिहान बेइजिङमा प्रदर्शन गरेको विशाल सैन्य परेडसम्म आइपुग्दा पश्चिमा मुलुकहरु झस्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ मुलुकका कार्यकारी प्रमुखहरुबीच देखिएको दूर्लभ एकताको दृश्यले उनीहरुलाई बेचैनी बनाएको विश्लेषण छ ।
एससिओ शिखर सम्मेलनमा सी, पुटिन र मोदीको निकटता देखेपछि ‘षडयन्त्र’ भइरहेको बताएको अमेरिकाले आज पनि सोही कुरा दोहोर्याएको छ । बेइजिङमा चीनको सैन्य शक्ति प्रदर्शनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी आक्रमणविरुद्धको प्रतिरोध र फासिवादविरुद्धको युद्धमा विजयी भएको ८०औँ वार्षिकोत्सवमा चिनियाँ जनतालाई शुभकामना दिँदै षड्यन्त्र नगर्न घुमाउरो चेतावनी दिएका छन् ।
‘सी र चीनका अद्भूत जनतालाई एक महान उत्सवको दिनमा धेरै शुभकामना, कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई पनि मेरो अभिवादन पुर्याइदिनुहोला’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर तपाईहरु संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै हुनुहुन्छ, कुनै गलत नहोस् ।’
ट्रम्पले चीनको गोरवपूर्ण विजयमा अमेरिकी नागरिकको समेत त्याग रहेकाले त्यसको सम्मान गर्न पनि चीनलाई स्मरण गराएका छन् । ‘महत्वपूर्ण सवाल यो छ कि राष्ट्रपति सीले विदेशी आक्रमणबाट स्वतन्त्रता दिलाउनको लागि अमेरिकी योद्धाले दिएको रगत र बलिदानलाई सम्मान गर्नुहुन्छ कि हुँदैन’, अगाडि भनेका छन्, ‘म आशा गर्छु तिनीहरूको साहस र बलिदानलाई योग्य रूपमा सम्मानित र सम्झना गरिनेछ ।’
ट्रम्प, उनका सहयोगी तथा अमेरिकी अर्थमन्त्रीले यसअघि पनि सामाजिक सञ्जालमार्फत् चीनमा भइरहेको गतिविधिप्रति चासो व्यक्त गर्दै विभिन्न धारणा अभिव्यक्त गरेका थिए । सी, पुटिन, किम, मोदीजस्ता प्रभावशाली नेताहरुको सामिप्यतालाई उनीहरुले लगातार अमेरिकाविरुद्धको ‘षड्यन्त्र’ भनिरहेका छन् ।
चीनले आजको सैन्य परेडमा एक सयभन्दा बढी अत्याधुनिक हतियारहरुसमेत सार्वजनिक गरेको थियो ।
टिप्पणीहरू