शिक्षकहरू सडकमा, विद्यार्थीले राष्ट्रपति गुहारे

शिक्षकहरू सडकमा, विद्यार्थीले राष्ट्रपति गुहारे

विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाउन सहयोग खोज्दै विद्यार्थीहरूको एउटा टोलीले शीतल निवास गुहारेको छ । 

संयुक्त विद्यार्थी संगठनका नेताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विधेयकबारे आफूहरुको सरोकार सुनाएका हुन् । शिक्षा क्षेत्रमा विद्यमान निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै पूर्णत: विद्यार्थीमैत्री बनाउन विधेयकमा प्रस्तावित कतिपय प्रावधान सच्याउनुपर्नेमा विद्यार्थीहरूको जोड रहँदै आएको छ। 

योसहित शिक्षा क्षेत्रका तमाम विकृति र विसंगतिलाई चिर्दै आमूल परिवर्तन ल्याउनका निम्ति राष्ट्रपति पौडेललाई ९ बुँदे मागपत्रसहित ध्यानाकर्षण गराएको संयुक्त विद्यार्थी संगठनको तर्फबाट जानकारी दिइएको छ ।

जवाफमा राष्ट्रपति पौडेलले विधेयकलाई विद्यार्थीमैत्री बनाउन आफ्नो तर्फबाट सक्दो पहल हुने विश्वास दिलाएको बताइएको छ ।

संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा पुगेको विधेयकका कतिपय प्रावधानप्रति शिक्षक र निजी विद्यालय सञ्चालकहरूले पनि असन्तुष्टि जनाइरहेका छन् ।

विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघ र निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले केही दिनदेखि काठमाडौँमा छुट्टा-छुट्टै आन्दोलन गरिरहेको छ ।

टिप्पणीहरू