यी हुन बन्द हुन लागेका २६ सामाजिक सञ्जाल (सूचीसहित)
चर्चित सामाजिक सञ्जाल फेसबुकसहित २६ वटा सोसल नेटवर्क नेपालमा बन्द हुने भएको छ । सूचीकरणमा आउन सरकारले गरेको पटक-पटकको आग्रह लत्याएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने निर्णय आज गरेको हो ।
भदौ १२ गते बसेको क्याविनेट बैठकले नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई एक साताभित्र दर्ता हुन निर्देशन दिएको थियो । जसअनुसार हिजो राति १२ बजेसम्ममा दर्ता भैसक्नुपर्ने थियो । तर, तोकिएको म्यादभित्र एउटा पनि सामाजिक सञ्जाल कम्पनी दर्ता प्रक्रियामा आएनन् ।
त्यसपछि आज मन्त्रिस्तरीय निर्णयबाट त्यस्ता सामाजिक सञ्जाललाई निस्क्रिय बनाउने निर्णय भएको हो । सरकारको निर्णयसँगै फेसबुकसहितका सञ्जाललाई निष्क्रिय बनाउने प्रक्रिया शुरु भएको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणले सरकारको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाएको छ ।
नेपालमा अहिलेसम्म जम्मा ५ वटा सामाजिक सञ्जालमात्र दर्ता भएका छन् । टिकटक, भाइबर, पोपोलाइभ, विटक र निम्बज सूचीकृत रहेको मन्त्रालयले जनाएको छ । केही कम्पनी दर्ता गर्ने प्रक्रियामा रहेको बताइएको छ ।
यी हुन् नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल : फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल ।
अहिले निष्क्रिय गराइने यी सञ्जाल सूचीकरणमा आए तत्काल सक्रिय पार्ने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू