माओवादीमा गुटबन्दी अस्वीकार्य, अटेर गरे कारवाही

माओवादीमा गुटबन्दी अस्वीकार्य, अटेर गरे कारवाही

नेकपा माओवादी केन्द्रले पार्टीमा गुटबन्दी रोक्न कडा कदम चाल्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले पार्टीमा स्वार्थसमूह हावी भएको निष्कर्षसहित अुनशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र गुट, उपगुट भंग गर्नेबारे छलफल भएको बताए ।  ‘स्थायी कमिटीको बैठकले गरेका निर्णयहरुको सन्दर्भमा आज छलफलमात्रै भयो । अनुगमन समितिहरु बनाउने तथा स्थायी समितिले गरेका निर्णयहरु गुट उपगुट तथा स्वार्थ समूह भंग गर्ने निर्णय भएको छ । त्यस्तो नरोकिए अनुशासनको दायरामा ल्याउने भन्ने विषयमा छलफल भयो’, उनले भने । 

माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिकरुपमै आरोप-प्रत्यारोप चलिरहेको छ । शर्मामाथि पार्टी नेतृत्वलाई चुनौती दिँदै हिँडेको आरोप छ । यसबारे पदाधिकारी बैठकमा छलफल गर्ने भनिए पनि आज उक्त विषय एजेण्डामा नरहेको बताइएको छ ।   

त्यस्तै, सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित खोजेको भन्दै माओवादीले आपत्ति जनाएको छ । यसबारे थप अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गरिने सापकोटाले बताएका छन् ।  

‘सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयको सार अध्ययन गर्दाखेरी यो अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित हुन्छ कि जस्तो लागेको छ, यसबारेमा हामी निकै गम्भीरतापूर्व अध्ययन गर्दैछौं’, उनले भने ।

टिप्पणीहरू