जासुसलाई राखेर दल उठाउने जोखना !
एउटा कुनै राजनीतिक दलको संगठन विस्तार गर्नेबारे सिडिओ कार्यालयमा छलफल भएको भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ! तर,पूर्वपन्चहरूको पार्टी राप्रपाका एक केन्द्रीय नेताले रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काको कार्यकक्षमा तीन वटै प्रहरी संगठनका प्रमुखलाई राखेर राजनीतिक बैठक गरेको भित्रैबाट आरोप लागेको छ ।
सिडिओ कार्यालयमा आफ्नो पार्टीको कार्यक्रम र गतिविधिबारे छलफल चलाएका थिए कार्य सम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले । उनी अहिले जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित केन्द्रीय पर्यवेक्षकका रुपमा रौतहटमा खटिएका छन् ।
सोही सिलसिलामा हिजो गौर पुगेको र गुप्तचर प्रमुखसमेतलाई सँगै राखेर प्रशासन कार्यालयमा आफ्नो पार्टीको प्रस्तावित कार्यक्रमबारे छलफल गरेको ठाकुरमोहन आफैँले जानकारी गराएका छन् । उनले सगौरव फेसबुकमा स्टाटस लेखेपछि यो तथ्य बाहिरिएको हो ।
पूर्वपन्चहरूको पार्टी राप्रपाका एक केन्द्रीय नेताले रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काको कार्यकक्षमा तीन वटै सुरक्षा संगठनका प्रमुखलाई राखेर राजनीतिक बैठक गरेको थाहा भएको छ ।
दुई वर्षअघि पार्टी कार्यालयमा उपाध्यक्ष बिक्रम पाण्डेद्वारा कुटाइएका ठाकुरमोहन सशस्त्र प्रहरीका पूर्वएआइजी पनि हुन् । उनले फेसबुकमा लेखेका छन्,'आज रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काज्यूको कार्यकक्षमा प्रहरी उपरीक्षक नेत्र गिरी,सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीज्यू तथा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीज्यूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन,संगठन विस्तार तथा सदाचार सचेतना जगाउने केन्द्रीय नीतिबारे एवम् स्थानीय र सीमा क्षेत्रका बासिन्दाको व्यावहारिक कठिनाइ,गुनासो र अपेक्षाबारे जानकारी गराउन पायौँ ।'
रोचक कुराचाहिँ,गणतन्त्रवादी नेताहरूले राज्यका निकायलाई चरम दलीयकरण गरेको भन्दै चर्को विरोध गर्ने राप्रपाले यसलाई संस्थागत गर्न खोजेको छ । राप्रपा केन्द्रीय प्रचार विभागको फेसबुक ग्रुपमा उक्त स्टाटस शेयर गरिएको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले त्यसबारे उठेका प्रश्नमा ठाकुरमोहनको बचाउ गर्दै जवाफ फर्काएको देखिन्छ ।
अदालत,अख्तियारदेखि संवैधानिक अंग र राज्यका अन्य निकायमा लामो समयदेखि प्रभाव जमाएका सत्तासिन एमाले र नेपाली काँग्रेसका पदाधिकारीले समेत सार्वजनिक रूपमा पार्टीको कार्यक्रम र गतिविधिबारे सिडिओ अफिसमा छलफल गरेको थाहा छैन । त्यसमाथि सरकारको खुफिया एजेन्सीका प्रतिनिधिलाई पार्टीको राजनीतिमा जोड्नु संवेदनशील विषय पनि हो ।
राप्रपाकै नेता सुरेशप्रसाद आचार्यले फेसबुकमा लेखेका छन् 'हुन त देशकै प्रधानमन्त्रीले भारतीय खुफिया "रअ" का प्रमुखलाई मध्यराती सरकारी निवासमा भेटेको खबर प्रचारित गर्ने देशमा ठाकुरमोहनजीले स्वदेशी खुफियालाई मध्यान्ह भेट्नु कुन ठूलो कुरो हो भनिएला ! नवीन राप्रपामा यो के देखिन थाल्यो ? धत् !'
टिप्पणीहरू