गोदावरीमा ‘बेबी बुमर्स’हरूले थर्काएको गोकुलको गुनासो
नेकपा (एमाले)को विधान महाधिवेशन आज सकिदैँछ । महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सुझाव पेश गर्न बनाइएका दशवटै समूहका नेताले रायसहितको प्रतिवेदन राख्ने र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि समापन हुने बताइएको छ ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
उता पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले भने बन्दसत्रमा मत राख्न नदिएको भन्दै चर्को आक्रोश पोखेका छन् । उनले आज एक्स (ट्वीटर)मार्फत् नेतृत्व पंक्तिलाई ‘बेबी बुमर्स’को संज्ञा दिए ।
युवाको मतलाई नेतृत्वले सुन्नै नचाहेको भन्दै बाँस्कोटाले केही नेताको दोहोरो चरित्रप्रति पनि आश्चार्य व्यक्त गरेका छन् । भनेका छन्, ‘जेन्जी र अल्फा पुस्ता आईसक्यो, तर यहाँ बेबी बुमर्स पुस्ताले थर्काउँदैछ ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यता लिन्छु भन्दा नेतृत्वले खडा गरेको पर्खालको आयु धेरै लामो नभएको पनि बाँस्कोटाको जिकिर छ । ‘हाहा-हुहुमा हैन, क्षितिज पारीसम्म नियालेर उ आयो भने कसैले रोक्न सक्दैन’, थपेका छन् ।
विधान महाधिवेशन चलिरहँदा केही नेताहरुले दुई वटा चरित्रको चटक देखाएको पनि बाँस्कोटाले जानकारी दिएका छन् । लेखेका छन्, ‘मौसम त दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।’
टिप्पणीहरू