राम्रो काम गर्दा पनि माओवादीले भोट नपाएको प्रचण्डको गुनासो

राम्रो काम गर्दा पनि माओवादीले भोट नपाएको प्रचण्डको गुनासो

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले राम्रो काम गरे पनि भोट भने कांग्रेस-एमालेलाई दिइएको गुनासो गर्नुभएको छ । यस्तो परम्परा अब तोड्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत लमजुङ पुगेका प्रचण्डले भोटेओडरमा आयोजित जनसंवाद कार्यक्रममा भन्नुभयो, 'राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ०६४ मा जस्तै मत हामीलाई एक पटक दिनुस् । हामी सुसासन र सामाजिक न्याय दिन्छौं ।'

राजनीतिक दल, सरकार र कर्मचारीतन्त्रमा भ्रष्टाचार मौलाएको देखेपछि आफूले सरकारमै रहेर सुसासनको अभियान चलाएको दाबी प्रचण्डले गर्नुभयो । मीटरब्याज पीडितलाई न्याय दिनेगरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोलेको कुरा पनि सुनाउनुभयो । 

सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत राष्ट्रिय हितमा काम गरेको उहाँले उल्लेख गर्नुभयो । चीन भ्रमणको क्रममा १४ वटा परम्परागत नाका खोल्ने पहल भएको जानकारी दिँदै थप्नुभयो, 'देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो। तर हामी जनतासँगै छौं, फेरि जनताको ताकत लिएर आउनेछौं ।'

प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत बैतडीदेखि लम्जुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लम्जुङको कृषि सम्भावनाबारे जोड दिँदै भन्नुभयो, 'यहाँको जल, जमीन र वनको उचित सदुपयोग गर्न सके कृषिमा ठूलो प्रगति सम्भव छ। सरकारमा रहँदा हामीले कृषि र सूचना प्रविधिलाई अग्रणी क्षेत्र बनाउन खोजेका थियौं ।'

उहाँले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नीति अघि बढाएको र त्यसमार्फत विदेशिएका युवालाई स्वदेश फर्काई कृषि, जलविद्युत् र उत्पादन क्षेत्रमा रोजगार सिर्जना गर्न सकिने धारणा प्रस्तुत गर्नुभयो ।

हिजो कास्कीको रूपाबाट लम्जुङ प्रवेश गर्दा रामबजारमा प्रचण्डसहित अभियान टोलीलाई भव्य स्वागत गरिएको थियो । साँझ भोर्लेटारमा स्वागत सभा सम्पन्न भएको थियो भने आज बिहान प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्दै स्थानीय ईशानेश्वर माध्यमिक विद्यालय अवलोकन गर्नुभयो ।

त्यसपछि सुन्दर बजारस्थित लम्जुङ कृषि क्याम्पस र श्री भक्ति नमूना माध्यमिक विद्यालय अवलोकन गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले जनताको पक्षमा पार्टीले गरेका कामहरू जनतामाझ पुर्‍याउन नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गर्दै कार्यकर्ताले जनतालाई केन्द्रमा राखेर समर्पित रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

टिप्पणीहरू