‘जेनजी हेयर, फ्युचर क्लियर’

‘जेनजी हेयर, फ्युचर क्लियर’

भ्रष्टाचारविरुद्धको अभियान भन्दै जेनजी युवाहरु माइतीघरमा भेला भएका छन् । टिकटकमा चलाइएको ‘नेपो बेबी’ ट्रेण्डमार्फत् एकताबद्ध भएका युवाहरु आज ठूलो संख्यामा एकैठाउँ देखा परेका हुन् । 

सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक, युटुब, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेनजी पुस्ताको आक्रोश सडकमा देखिएको छ । राजधानीका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु स्वस्फूर्त ड्रेसमै सहभागी भएका छन् । जेनजी पुस्तालाई समर्थन गर्न पुग्नेहरुको संख्या पनि उल्लेख्य छ । 

युवाहरुले ‘हाम्रो भविष्य बिक्रीमा छैन’, ‘असन्तुष्टी चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘जेनजी हेयर, फ्युचर क्लियर’ लगायतका नारा लेखिएको नेमप्लेट बोकेका छन् । 

युवाहरुले माइतीघरदेखि बानेश्वरसम्म र्याली निकाल्ने तयारी गरिरहँदा सम्भावित घुसपैठ र झडपलाई मध्यनजर गरेर व्यापक प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार युवाहरुको प्रदर्शनस्थलमा सुरक्षा कमाण्डको लागि एक एसपीसहित पाँच डिएसपी खटाइएको छ । माइतीघर नजिकैका क्षेत्रहरु लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर, पुल्चोक, सुन्धारा लगायतका मुख्य चोकहरुमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

टिप्पणीहरू