‘जेन जी’ आन्दोलनअगाडि गुप्तचरको गलत रिपोर्टिङ

‘जेन जी’ आन्दोलनअगाडि गुप्तचरको गलत रिपोर्टिङ

भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताले थालेको आन्दोलन आज पनि जारी छ । हिजो बिहान राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनले अनपेक्षित रुप लिँदा थप चर्किएको हो । काठमाडौंको तीन जिल्लामा कर्फ्यु लगाइएकोमा युवाहरु चोक चोकमा भेला भइसकेका छन् । 

उनीहरुले टायर बाल्ने,ढुंगामुढा प्रहार गर्नेलगायतका क्रियाकलाप गरिरहेका छन् । हालसम्म दुई दर्जनको मृत्यु भइसकेको छ भने झण्डै पाँच सय गम्भीर घाइते छन् । उनीहरुको सिभिल अस्पताल,राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्कूल र कलेजको पोशाकमा आएका विद्यार्थीलाई गोली ठोकेर मारेपछि सर्वसाधारण झनै आक्रोशित बनेका छन् । 

सडकमा उत्रिएर उनीहरुले आक्रोश पोखिरहेका छन् । हिजोको आन्दोलनमा सुरक्षा निकायको गम्भीर कमजोरी भएको जानकारहरु बताउँछन् । घटनापछि राजीनामा दिएका गृहमन्त्री रमेश लेखकसँगको ब्रिफ्रिङमा नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ्ग, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले त्यत्रो भीडको आकंलन नै नगरिएको बताएका थिए । 

प्रहरीका एक उच्च अधिकारीका अनुसार अस्ति बेलुकी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गसमेत सम्मिलित बैठकमा प्रमुख थापाले आन्दोलनमा बढीमा साढे दुई हजार उपस्थित हुने ठोकुवा गरेका थिए । तर,हिजोको आन्दोलनमा १५ हजार बढीको सहभागिता थियो । ‘अस्ति बैठक भएको थियो । त्यतिबेला उहाँले साढे दुई हजारभन्दा बढी आउँदैनन् भन्नुभएको थियो । तर,यत्रा आए’,श्रोतले भन्यो । 

घटनापछि बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग गुनासो गरेको उनको भनाइ छ । ‘सूचना नभएको’ भन्दै ओलीले असन्तुष्टि पोखेका हुन् । अगाडि थपे,‘सुरक्षा निकायका प्रमुखसँगको कुराकानीको क्रममा प्रधानमन्त्रीले तपाईँहरुसँग सूचना नै रहेनछ भन्दै गुनासो पोख्नुभएको थियो ।’

आन्दोलनकारीहरु बेल्चा,काँडे तार काट्ने कैँची,साभेल बोकेर आएका थिए । शुरुमा रबर गोली चलाइएकोमा संसद् भवन प्रवेश गर्न खोजेपछि मेटलको गोली हानिएको ती अधिकारीको जिकिर छ । संसद् भवनमा तोडफोड शुरु भएपछि वाटर क्यानन गाडीका चालक नै भागेका थिए । हिजो त्यति मान्छे नमरेको भए ठूलै क्षति हुने उनको ठम्याई छ । 

ती अधिकारी भन्छन्,‘पहिले रबर गोली नै चलाइएको हो । तर, संसद् भवन प्रवेश गरेपछि मेटल गोली हान्नुपर्यो । उनीहरु पनि पुरै तयारी अवस्थामा आएका थिए । हिजो त्यति मान्छे नमरेको भए कि हजारौं मर्थें कि संसदीय व्यवस्था पल्टिन्थ्यो ।’

हिजोको घटनामा भएको बर्बर दमनको विरोधमा आज बिहानैदेखि विभिन्न स्थानमा आन्दोलन शुरु भएको छ । आन्दोलनकारीले पाटनको बाँडेगाउँ,पुल्चोक,मंगलबजार र हरिसिद्धिमा रहेको प्रहरी पोष्टमा आगजनी र ढुङ्गामुढा गरेका छन् भने नेताहरुको घर टार्गेटमा परेको छ ।

टिप्पणीहरू