अदालत डढेकोमा सुलभले खुशी मान्दा अर्का वकिलको चिट्ठी
-माधवकुमार बस्नेत
सुलभजी, तपाईँले "सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला,तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला,तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि,त्यही अदालत र त्यही बारमा म शेरबहादुर र के.पी. ओलीका अनुहारहरू पटक-पटक देख्ने गर्छु । यिनीहरू मेरो आँखामा संवैधानिक चोरहरु हुन् ! साँच्चिकै संवैधानिक फटाहाहरु हुन् ।
अदालतलाई कब्जा गर्ने,बारलाई विकृत गर्ने,अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने,राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब Gen Z सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामुहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ ।अब न्यायालयको भविश्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्त्ति चाहिँदैन ।" भनेर लेखेको पोष्ट पढेँ ।
तपाईँलाई सुलभ भनेर कलिलै वयमा चिनाउने त्यही न्यायपालिका र आमसञ्चार हुन् । संसद विघटन मुद्दामा तपाईँले गरेको बहस र तपाईँको बहसको नोट बनाएर दिनु भनी विश्वम्भरप्रसाद श्रेष्ठले भनेपछि त्यसलाई आमसञ्चारले बाहिर ल्याइ दिनुअघि सुलभ खरेल भनेको को हो भनेर चिन्थे ? तपाईँको योग्यता चिनाउने माध्यम त्यही न्यायालय हो ।
न्यायालयमा नियुक्त भएका र चुनिएका अधिकांश मानिसप्रति मेरो पनि असहमति छ । यस विषयमा मैले असहमति राखेर लेख्न शुरू गर्दा शायद तपाईँले कानून पढ्न पनि शुरू गर्नुभएको थिएन होला (यो वाक्य मैले तपाईँको मानमर्दन गर्न लेखेको होइन । तपाईँले शायद २०६० आसपासतिर कानून पढ्न लाग्नुभएको थिएन होला भनेर तथ्य लेखेको हुँ ।)। अरू त अरू, न्याय परिषद् प्रा. लि. शीर्षकमा "लोक सेवाले पनि नपत्याएका र झगडियाले पन नपत्याएका तिर्की जुट जतिलाई न्याय परिषद्ले पत्याएर न्यायाधीश बनाउँछ" भनेर लेख्ने मान्छ म हुँ । त्यतिमात्रै होइन,न्याय परिषद् हामीले रछ्यानमा ढलेको बेलामा देखेको मीठो सपनाजस्तो भयो भनेर लेख्ने पनि म हुँ । नेपालमा अरू संस्थाले मेरिट लिष्टको शुरूबाट भर्ती गर्छन् तर मेरिट लिष्टको अन्तिमबाट छानेर भर्ना गर्ने एउटै संस्था न्याय परिषद् मात्र हो भनेर लेख्ने पनि म हुँ । सम्माननीय प्रधान न्यायाधीशज्यू,तपाईँको भ्रान्ति संविधान होइन भनेर लेख्ने पनि म हुँ । मेरो अनुमानमा म जति आलोचक शायद तपाईँ हुनुभएन होला । तर मैले न्यायपालिकालाई सधैँ मायाँ गरिराखेँ र गर्छु । कुनै कालखण्डमा खराब व्यक्ति बस्दैमा संस्था सधैँलाई बिटुलो हुँदैन ।
अदालत र बार जलेको होइन । जलेको त इतिहास हो । अमूल्य र अप्राप्य सम्पत्ति हो । तपाईँ,मेरो र अब पछि आउने पुस्ताको अमूल्य सम्पत्ति जल्यो । तर तपाईँले सङ्केत गरेका व्यक्तिहरू जलेका छैनन् ।
अदालत र बार वा अन्य संस्थाहरू बिग्रिएका होइनन्,बिगारिएका हुन् । अदालत र बार जलेको होइन । जलेको त इतिहास हो । अमूल्य र अप्राप्य सम्पत्ति हो । तपाईँ, मेरो र अब पछि आउने पुस्ताको अमूल्य सम्पत्ति जल्यो । तर तपाईँले सङ्केत गरेका व्यक्तिहरू जलेका छैनन् । ती त सुरक्षित र सकुशल बसेका छन् । जहाँको इतिहास जल्छ त्यहाँको भविष्य पनि उज्वल हुँदैन । महत्त्व नहुने भए रामापिथेकस र हजारौं वर्षअघिका डाइनोसर किन पढ्नु ? तपाईँलाई थाहा छ विगतको महत्त्व ? तपाईँले भरखरै पढेको डिग्रीको प्रमाण-पत्र हेर्नुस् त त्यो Past tense मा लेखेको हुन्छ ! Past tense ले विगत जनाउँछ यो मैले भन्ने परेन । यदि विगत फाल्ने हो भने तपाईँको भरखरै पढेको सर्टिफिकेट फाल्नु परेन ?
मैले त तपाईँको जस्तो संसार देख्ने मौका पाइनँ । तपाईँ भरखर युनिभर्सिटी अफ मिसिगनबाट उच्च अध्ययन गरेर फर्कनु भएको छ । तर तपाईँलाई पक्का पनि थाहा होला मार्बरी बि. म्याडसनको फैसला सर्वोच्च अदालतमा सुरक्षित नहोला भनेर अरू पाना डढी ३ पाना मात्रै भए पनि लाइब्रेरी अफ कङ्ग्रेसमा लगेर जोगाइराखेका छन् । इतिहास त्यसरी राख्नुपर्छ ।
तपाईँलाई यो पनि थाहा हुनुपर्छ चीनमा कम्युनिष्ट शासन छ । उनीहरू धर्म मान्दैनन् । तर Temple of Heaven, जुन १४०६ देखि १४२० बीचमा बनेको हो, त्यसलाई कसरी जोगाएर राखेका छन् ? त्यसबाट उनीहरूले कति आम्दानी गर्छन् ?
अहिले तपाईँले संस्था भष्म बनाउँदा बेलामा फुलेल भएर लेख्नुभयो । तर भोलि तपाईँलाई नेपालको न्यायिक पुनरावलोकनको पहिलो फैसला कुन हो ? पञ्चायत कालमा गरिएको एउटै मात्र प्रशासकीय कार्यको न्यायिक पुनरावलोकनको फैसलाको मूल प्रति कस्तो रहेछ भनेर हेर्न मन लाग्यो भने कहाँ पाउनु हुन्छ ? त्यसबेला तपाईँको अहिलेको पोष्टले त्यसलाई पूर्ति गर्न सक्छ ? अर्थात् तपाईँलाई कुनै विदेशीले सोध्यो वा तपाईँले नै कुनै अनुसन्धानमूलक रचना गर्नुपर्यो भने त्यसको ठाउँमा अहिलेको तपाईँको पोष्ट राख्नु हुन्छ ?
इतिहासको महत्त्व नहुने भएको भए तपाईँले अमेरिकाबाट मलाई अमुक कुराको अभिलेख छ ? भनेर सोध्नुपर्थ्यो ? (यद्यपि मैले सहयोग गर्न सकिनँ ? किन सकिनँ भन्ने कारण पनि तपाईँलाई अहिले भनिदिउँ- इतिहास वा अनुसन्धानका प्रमाणहरू जसले सङ्कलन गरेका छन् तिनीहरूले आफूले पहिला प्रयोग नगरी अरूलाई दिँदैनन् । यही कारणले मसँग भए पनि तपाईँलाई मैले दिन सकिनँ । त्यसमा मलाई क्षमा गर्नुहोला । के सोध्नु भएको थियो अहिले सार्वजनिक नगरूँ ।) तपाईँ अमेरिकामा बसे पनि वा मिसिगन युनिभर्सिटीजस्तो चर्चित युनिभर्सिटीमा पढे पनि अध्ययनको कुनै विषय त नेपालकै ती आज जलेका र जल्दा तपाईँलाई पटक्कै मन नदुखेका कुराको आवश्यक पर्यो होइन ?
यो सर्वोच्च अदालत जलेको होइन । नेपालको न्यायिक ढुकुटी जल्यो । खरानी भयो । अब तपाईँले इच्छ्याएको रुचाएको जस्तो न्यायपालिका बने पनि त्यो धुवाँ र खरानीबाट त्यसलाई उठाउन सकिँदैन । तपाईँलाई थाहा छ ? सुगौली सन्धिको सम्झौताको प्रति २०३० सालमा सिैहदरबारसँगै जल्यो । १९९७।३।१२ को शक्ति पृथकीकरणसम्बन्धी सनद पनि सिंहदरबारसँगै जल्यो । सिंहदरबार त फेरि ठडियो । आज आगो लागे पनि फेरि अझ मजबुतसँग बनाउन सकिन्छ । तर त्यो सुगौली सन्धि र त्यो सनद पाइन्छ ?
यो सर्वोच्च अदालत जलेको होइन । नेपालको न्यायिक ढुकुटी जल्यो । खरानी भयो । अब तपाईँले इच्छ्याएको रुचाएको जस्तो न्यायपालिका बने पनि त्यो धुवाँ र खरानीबाट त्यसलाई उठाउन सकिँदैन । तपाईँलाई थाहा छ ? सुगौली सन्धिको सम्झौताको प्रति २०३० सालमा सिैहदरबारसँगै जल्यो । १९९७।३।१२ को शक्ति पृथकीकरणसम्बन्धी सनद पनि सिंहदरबारसँगै जल्यो । सिंहदरबार त फेरि ठडियो । आज आगो लागे पनि फेरि अझ मजबुतसँग बनाउन सकिन्छ । तर त्यो सुगौली सन्धि र त्यो सनद पाइन्छ ? सुगौली सन्धिको प्रति नभएकोले भारतले हेप्दा हामीले गौंण स्रोतको बैशाखी टेक्नु परेको छ ।
मसँग एउटा सानो शायद बढीमा ३"x३" को कागजको चिर्कटो छ । त्यसलाई प्रकाश वस्तीलाई कानूनको नालीबेलीमा प्रयोग गर्न दिएको छु । अरूसँग होला नहोला । त्यसलाई कागजको चिर्कटो भनेर मिल्काए वा बचाएर राख्न नसके राणाकालमा कानून परिवर्तन हुँदा कसरी वितरण गरिँदो रहेछ भन्ने अहिलेका पुस्ताले जान्न पाउँथे ? तपाईँलाई अर्को कुरा पनि भनिदिउँ (तर तपाईँलाई थाहा छैन भनेर होइन ।)- २०४२ सालमा नेपाल प्रजापरिषद्ले स्मारिका निकाल्न आफैँले बनाएर छरेको पम्प्लेट पाएन र बेलायतबाट प्रतिच्छवि ल्याएर छाप्नु पर्यो ! सुन, चाँदी,हिरा जुहारात आदि मिल्काइदे हुन्छ किनभने ती केही महँगो मूल्य तिरेर पनि किन्न पाइन्छ तर इतिहासका प्रमाण मासिएपछि मासिएका मासियै हुन्छन् । तपाईँ त झन् राजनीतिमा पनि प्रवेश गरेको मान्छे । यति संस्था र व्यक्ति फरक छुट्याउन पनि कठिनावस्थाले कस्तो राजनीति होला ? तपाईँको शुभेच्छुकको नाताले यति लेखेँ । इतिहास मेटिँदा खुशी हुनुहुँदैन ।
टिप्पणीहरू