जे भयो,साह्रै नमीठो भयो

जे भयो,साह्रै नमीठो भयो

राष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताको निवासमा आक्रमण गर्न जेन जी युवाले निकै व्यवस्थित तबरले योजनावद्ध तयारी गरेको पाइएको छ । 

अस्ति सोमबार सरकारले आन्दोलनमा दमन गर्दा १९ जनाको ज्यान गएपछि आक्रामक भएका युवाहरूले सोही दिन राज्यका पदाधिकारी र शीर्ष नेताको घरमा हमला गर्ने योजना बनाएको विशेष स्रोतबाट खुलेको हो । जसमा उनीहरुले कहाँ-कहाँ आक्रमण गर्ने भनी गुगल म्यापसहित आन्तरिक सर्कुलर गरेको देखिन्छ । 

बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी घर र राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको झापा र बालकोटको दुवै घर जलाइएको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घर र खुमलटारको निवास पनि आक्रमणकारीको निशानामा पर्यो । पूर्वप्रधानमन्त्री माधव नेपालको कोटेश्वरस्थित घरमा पनि आगजनी भयो । 

सबैभन्दा ठूलो क्षति झलनाथ खनालले व्यहोर्नुपरेको छ । राज्य शक्तिको केन्द्रमा नरहेका उनको डल्लुस्थित घरमा आक्रमणकारी जत्थाले आगो लगाउँदा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार आगोमा परेर गम्भीर घाइते भएकी छन् । 

यसबाहेक नेपाली कांग्रेस र एमालेका अन्य थुप्रै नेताको घरमा पनि आगजनी र तोडफोड गरिएको छ । 

फेसबुकबाट जेनजीलाई समर्थन जनाउने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरको नक्सासहित जलाउने सूची थियो । नक्सामा नरहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा  समेत आक्रमण गरिएको छ । 

एक जनालाई छुटाउनका लागि पूरै कारागार खालि हुनेगरी कैदी बन्दीलाई बाहिर निस्कन दिइएको छ । बिभिन्न अपराधमा दोषी ठहर भइ सजाय काटिरहेकाहरू यसरी एकैचोटि बाहिर निस्किँदा समाजमा एक प्रकारको भयको वातावारण देखिन्छ ।

यता, आन्दोलनले अराजक र उग्र रुप लिँदै गएपछि पद छोडेर हेलिकप्टरमा उडेका प्रधानमन्त्री ओलीको अवस्था अहिलेसम्म अज्ञात छ । उनलाई सेनाको ब्यारेकमा सुरक्षित राखिएको छ । 

सुरक्षा स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाको शिवपुरी ब्यारेकमा राखिएको छ । सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सुरक्षित रहेको बुझिएको छ । हिजो दिउँसो आगो लाग्न थालेपछि उनीहरू तीनै जना प्रहरी हेडक्वार्टर पुगेर सुरक्षित भएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधवकुमारलाई पनि सेनाले सुरक्षित स्थानमा राखेको भनिएको छ, तर स्थान अज्ञात छ । 

वास्तवमा जेनजी आन्दोलन कुनै राजनीतिक वाद,बिचार,दल र नेताविरुद्ध परिलक्षित नरहेको भनिए पनि यसबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो फाइदा उठाएको छ । सहकारी ठगीमा जेल परेका सभापति रवि लामिछानेलाई छुटाउन यो आन्दोलनलाई रास्वपाले राम्रैसंग प्रयोग गरेको पाइयो । 

जेनजी युवाहरुको भनाइअनुसार रास्वपाका सभापतिलाई जेलमुक्त गराउने आन्दोलनको एजेण्डा थिएन । तर,सोमबारदेखि नै आन्दोलनलाई आफू अनुकूल उपयोग गर्ने प्रयासमा रहेको रास्वपा आफ्नो योजनामा सफल भएको छ । युवा प्रदर्शनको आडमा हरि ढकालहरूको एउटा समूहले नख्खु कारागार पुगेर रविलाई निकाल्दा बनाएको पत्रको व्यहोराले धेरै कुरा छर्लंग हुन्छ ।  

जेल प्रशासनको पत्रमा 'उहाँले निस्कन मन्जुर गर्नुभएकाले' भन्ने व्यहोरा लेखिएको छ,आफू बाहिर निस्किदिएर रविले राज्यलाई निगाह गरिदिएको अर्थ लाग्नेगरी । चिन्ताको कुरा चाहिँ एक जनालाई छुटाउनका लागि पूरै कारागार खालि हुनेगरी कैदी बन्दीलाई बाहिर निस्कन दिइएको छ ।

बिभिन्न अपराधमा दोषी ठहर भइ सजाय काटिरहेकाहरू यसरी एकैचोटि बाहिर निस्किँदा समाजमा एक प्रकारको भयको वातावारण देखिन्छ । त्यसो त, अहिले राज्य कमजोर भएको मौका छोपेर हुलमुलमा निस्किएका रविसहितका कैदीबन्दी मुलुकमा कानुन सक्रिय हुनासाथ फेरि जेल जानुपर्ने पक्का छ । तर, अर्को खतरा के छ भने रविविरुद्ध मुद्दा परेका अदालतमा आगो लगाएका मिसिल डढाउने प्रयास नहोला भन्न सकिन्न ।

टिप्पणीहरू